काठमाडौँ । मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले आजदेखि आईपीओ निष्कासन बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।
कम्पनीले दोस्रो चरणमा बिक्री गर्न लागिएको सेयरमध्ये ८० हजार ७० कित्ता सामूहिक लगानी कोषहरूका लागि र ३२ हजार २८ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी १३ लाख ३७ हजार ३०२ कित्ता सार्वजनिक निष्कासनमा ल्याएको हो ।
यो आईपीओको बिक्री अवधि चैत २२ गतेसम्म निर्धारण गरिएको छ । उक्त अवधिमा मागअनुसार आवेदन नपरे आगामी वैशाख ३ गतेसम्म बिक्री खुल्ला रहने बताइएको छ । कम्पनीको आईपीओ खरिदका लागि न्यूनतम १० देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको सङ्केत गर्ने केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ ।
कम्पनीले दोलखा जिल्लामा ६.४ मेगावाट क्षमताको सुरी खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ भने ७ मेगावाट क्षमताको माथिल्लो सुरी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । ६.४ मेगावाट क्षमताको सुरी खोला जलविद्युत् आयोजनाबाट २०७९ वैशाख १८ गतेबाट व्यापारिक उत्पादन सुरु भएको हो भने ७ मेगावाट क्षमताको माथिल्लो सुरी खोला आयोजनाबाट चैत्र ३० गतेदेखि व्यापारिक उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
आर्थिक वर्ष २०७८/०७९ सम्मको वास्तविक वित्तीय विवरणअनुसार कम्पनी तीन करोड ८८ लाख रुपैयाँभन्दा बढी सञ्चित नोक्सानीमा रहेको छ ।