नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका थप एक जना पक्राउ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहका थप एक जना पक्राउ


१६ चैत्र २०७९, बिहिबार


काठमाडौँ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ठगी धन्दामा संलग्न थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पत्थरी शनिश्चरे नगरपालिका १० का वर्ष ४४ को सागर राई रहेका छन् । 

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँबाट खटिएको टोलीले राईलाई बुधवार काठमाडौँको बालकुमारीबाट पक्राउ गरेको हो । पक्राउ परेका राईलाई मुलुकी अपराध संहिताको दफा २४९ बमोजिम (२) र (१) कसुर अपराधमा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय टेकु, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ । 

यसअघि प्रहरीले आइतबार तीन जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा ललितपुरका सानु भण्डारी, मोरङका केशव दुलाल र पाँचथरका टङ्क गुरुङ रहेका छन् । पीडितहरूले दिएको किटानी जाहेरीको आधारमा राईलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

५० जना भन्दा बढी पीडितहरूले ३ करोड २४ लाख रुपैयाँ भन्दा बढी रकम ठगेको भनी प्रहरीमा किटानी जाहेरी दिएका थिए । प्रहरीका अनुसार नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ठगी धन्दामा ठुलो गिरोह नै रहेकोले यसबारे अनुसन्धान जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस