काठमाडौँ । मन्त्रालयको टुङ्गो लगाउन सत्ता गठबन्धन दलहरूको बैठक बालुवाटारमा जारी रहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी गठबन्धनको बैठकमा ९ दलका शीर्ष नेताहरूको सहभागिता छ। बुधबार सत्ता गठबन्धनबीच मन्त्रालय संख्यामा समझदारी भएसँगै प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। मन्त्रालय भागबन्डाको लगभग टुङ्गो लागे पनि कुन दललाई कुन मन्त्रालय दिने भन्नेबारे यकिन भइसकेको छैन।
दलहरूले मन्त्रालयमा दोहोरो–तेहरो दाबी गरेकाले त्यसलाई मिलाउन प्रधानमन्त्रीलाई सकस परेको छ। बुधबारको समझदारी तलमाथि नभए मन्त्रिपरिषद् विस्तार र शपथ आजै हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। दलहरूले आ-आफ्नो पार्टीको भागमा परेको मन्त्रालयमा मन्त्रीहरूको नाम आजै दिँदै छन्।
बुधबारको गठबन्धन बैठकमा कांग्रेस ८, माओवादी ५, जसपा र एकीकृत समाजवादी २र२, लोसपा १, नाउपा १, जनमत १ (राज्यमन्त्रीसहित), आमजनता र नेसपाले १र१ मन्त्रालय लिने सहमति भएको छ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउने तयारी गरेका छन्। कांग्रेसले अर्थ, परराष्ट्र, रक्षासहित ८ मन्त्रालय पाउने समझदारी भएको छ। गृह मन्त्रालय माओवादीले आफैँसँग राख्न चाहेपछि कांग्रेसलाई अर्थ मन्त्रालय दिने सहमति भएको हो।
प्रमुख सत्तारुढ दल कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्काले र एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भुसालले दलको तर्फबाट सरकारमा नेतृत्व गर्दै छन्।