नेपालको सबैभन्दा ठुलो जिल्ला डोल्पाले कुल भूभागको ५.३६% ओगटेको छ । समुन्द्री सतहबाट १५२५ मिटरदेखि अधिकतम ७७५४ मिटरको उचाइ सम्म फैलिएको छ । डोल्पाको सिमाना धौलागिरि शृङ्खलाले घेरिएको छ, जसको धौलागिरि-१ (८,१६७ मिटर) दक्षिण र उत्तरमा रहेको छ । पश्चिममा सिस्ने हिमाल र काञ्जिरोवा(६८८३ मिटर) हिमाल र उत्तरमा तिब्बती पठारले डोल्पा क्षेत्रलाई घेरेको छ । प्राकृतिक सुन्दरता, सम्पदा, जैविक विविधता, भाषिक विविधता र ऐतिहासिकताले भरिपूर्ण भए पनि राज्यको पछौटेपनको कारणले अझै पनि हरेक क्षेत्रमा पछाडि नै परेको छ । यहाँका ठुली भेरी, सुलिगाड, तराप खोला र जगदुल्ला नदीमा धेरै पानी बगे पनि डोल्पाको अवस्थामा तात्त्विक सुधार भएको छैन, जनताको अपेक्षा, चाहना र आवश्यकतालाई आत्मसाथ गर्दै विकास र सम्वृध्दिका योजना तयार हुनु पर्ने हो, त्यो हुन सकेको छैन ।
डोल्पामा ३००० मिटर भन्दा माथिको उचाइमा रहेको भू-भागको हिस्सा सबभन्दा बढी रहेको छ । यहाँको भू-बनावटलाई उपल्लो डोल्पा, मध्य डोल्पा र तल्लो डोल्पामा विभक्त गर्न सकिन्छ । उपल्लो डोल्पाले जिल्लाको क्षेत्रफलको ७० प्रतिशत भन्दा बढी भू-भाग ओगटेको छ । जसमा छार्का ताङसोङ गाउँपालिका ३४५.५८ वर्ग कि.मि., डोल्पो बुद्ध गा.पा. ३७७.३८ वर्ग कि.मि., शे-फोक्सुण्डो गा.पा. १२३.१ वर्ग कि.मि. र शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज ३५५५ वर्ग किमी (यसको अधिकांश भाग र मध्यवर्ती क्षेत्र उपल्लो डोल्पामा पर्ने) रहेको छन् ।
उपल्लो डोल्पाको आफ्नै विशिष्ट पहिचान र इतिहास रहेको छ । ११औँ शताब्दीमा स्थापना भएको शे-गुम्बा उपल्लो डोल्पाको आध्यात्मिक ह्रदयको रूपमा रहेको छ । भूतात्मा र राक्षसी शैलीका विरुद्ध जितको प्रतीकको रूपमा हरेक बाह्र वर्षमा मनाइने शे-मेलाले यहाँको विशिष्टतालाई झनै उजागर गरेको छ । डोल्पो जनजातिहरूले माथिल्लो डोल्पा, मध्य डोल्पा, तल्लो डोल्पा र अन्य जिल्लाका पहाडी क्षेत्रमा रहेका जातिहरूसँग सम्बन्ध जोड्ने काम तिनीहरूको परम्परागत भोटे नुन र ऊनको व्यापारबाट भएको पाइन्छ । डोल्पो हिमाल र डोल्पो जातिसँग डोल्पा जिल्ला अन्तर सम्बन्धित रहेको छ ।
३६०० मिटर भन्दा उचाइमा उपल्लो डोल्पामा मुख्यतः ४ बटा उपत्यका रहेका छन् जसमा छार्कामा शार्का भ्याली, धोमा तराप भ्याली, तिञ्जेमा पान्जाङ भ्याली र साल्दाङमा नाङखोङ भ्याली रहेका छन् । यी भ्यालीहरूले उपल्लो डोल्पाको सौन्दर्यमा महत्त्वपूर्ण भूमिका खेलेका छन् । जसले गर्दा उपल्लो डोल्पाको पहिचान नै फरक भएको छ । डोल्पा सम्मको पदयात्राले बेदाग प्राकृतिक सौन्दर्य र पुरानो संस्कृति परम्परा भएका निर्दोष भोटे समुदायहरूको वास्तविकता अनुभव हासिल गर्न सकिन्छ ।
कला, संस्कृति, सभ्यता र भेषभुषाको खानीका रूपमा रहेको तिब्बती बौद्ध बोन र हिन्दु संस्कृति र परम्परासँग सम्मिश्रण रहेको जीवनशैली उपल्लो डोल्पामा पाइन्छ ।विभिन्न जात, धर्म, संस्कृति र परम्परा सँगसँगै मिसिएको प्राकृतिक दृश्यहरू हेर्ने अवसर डोल्पामा पाइन्छ । डोल्पाको प्राकृतिक मनोरमता र हिउँको च्यादर ओडेका हिमालहरूको दृश्य संसारको जुनसुकै परिदृश्यमा अतुलनीय छ। यहाँको प्राकृतिक सौन्दर्य र संस्कृति, जीवनशैली र आर्थिक गतिविधिले सबैलाई सधैँ आकर्षित गर्ने गर्दछ । सन् १९९९ मा फ्रान्सेली एरिक भ्याली द्वारा निर्देशित ओस्कारमा मनोनीत चलचित्र ‘हिमालय क्याराभान’ ले उपल्लो डोल्पाको सामाजिक, आर्थिक र सांस्कृतिक परिवेशलाई चित्रण गरेको छ। जसले डोल्पालाई विश्वमा परिचित गराउन महत्त्वपूर्ण भूमिका खेलेको छ ।
कच्ची, ठाडो उकालो, उबडखाबड भू-धरातल, भिर पाखा, बुट्यान र ढिलो बाटोहरूले विभिन्न धर्म र चाडपर्वहरू पालन गर्ने जनजातिहरूको बस्ती क्षेत्रहरूसम्म पुग्न सकिन्छ। सन् १९५९ सम्म नेपाल र तिब्बतको सीमा खुला भएकोले मानिसहरू सजिलै वारपार गर्दथे, त्यति बेला देखि नै उपल्लो डोल्पाका डोल्पो जनजातिहरूको तिब्बतसँग सामाजिक, व्यापारिक तथा सांस्कृतिक सम्बन्ध रहेको छ । उपल्लो डोल्पाको परिदृश्य, भाषा र संस्कृति तिब्बती पठारसँग मिल्दोजुल्दो भएकोले तिब्बतसँग अन्योन्याश्रित सम्बन्ध रहेको प्रमाणित हुन्छ ।
बोन धर्मको बाहुल्यताका कारणले पनि यहाँका मानिसहरू तिब्बतबाट आएका हुन भन्ने अनुमान गर्न सकिन्छ । उपल्लो डोल्पाको पदयात्रा मुस्ताङको कागबेनीबाट सुरु भई धुलुङपाडाँडा पास भएर उपल्लो डोल्पा ग्रेट हिमालयन ट्रेल पछ्याउँछ । उपल्लो डोल्पा क्षेत्रका प्रमुख आकर्षणहरू शे-गुम्वा, शे-फोक्सुण्डो ताल, शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र विश्वकै अग्लो उचाइमा रहेका मानव बस्तीहरू हुन् । यो ठाउँको मनमोहक सौन्दर्यले स्वदेशी र विदेशीहरूलाई यहाँ आउनका लागि सधैँ लोभ्याएको छ । यो क्षेत्रमा पर्यटकीय, धार्मिक, सांस्कृतिक आदि धेरै सम्भावनाहरू र आकर्षणहरू रहेका छन् ।
क) धार्मिक आकर्षण र सम्भावनाहरू
१.बोन धर्म उपल्लो डोल्पाको प्रमुख धर्म तिब्बती बौद्ध बोन धर्म हो । बोन अनुयायीहरूले बोनलाई बुद्ध धर्म भन्दा छुट्टै धर्म मान्ने गर्छन् । परम्परागत बोन धर्म प्रतिको विश्वास र आस्था धेरै प्राचीन रहेको छ । बोन धर्म तिब्बतमा बुद्ध धर्मको आगमनको पूर्व नै रहेको पाइन्छ, यो ११ औँ शताब्दीमा बौद्ध धर्मको पुनरुत्थानसँगै शुरू भएको थियो । उपल्लो डोल्पा तिब्बतसँग जोडिएको हुनाले त्यहाँको धर्म र जीवनशैलीले निकै प्रभाव पारेको छ । उपल्लो डोल्पा शहरी जीवनको स्पर्शबाट धेरै दूर रहेको छ, जसले गर्दा तिब्बती संस्कृतिलाई स्वदेशी रूपमा संरक्षण गर्न मद्दत गरेको छ र यसले पर्यटकहरूका लागि थप आकर्षक बनाइएको छ।
२. शे-गुम्बा ४,२०० मिटरमा रहेको शे-गुम्बा ११ औँ शताब्दीको तिब्बती बौद्ध विहार हो, जुन उपल्लो डोल्पाको नाङखोङ उपत्यकाको मुटुमा अवस्थित छ। यहाँ आउनको लागि पदयात्रा गर्दै कांगा ला (५,१५१ मिटर)पास पार गरेर ट्रान्स हिमालयन क्षेत्रको सबैभन्दा अग्लो बाटोको यात्रा गर्न पाइन्छ । गुम्बाबाट हिउँले ढाकिएका सेता हिमालहरू र टाढा-टाढाका मनोरम परिदृश्यहरूको दृश्यावलोकन गर्न सकिन्छ । जसले गर्दा सबैलाई शे-गुम्बाले आकर्षित गरिरहेको हुन्छ र सबैको स्वागतमा प्रतीक्षा गरिरहेको हुन्छ ।
ख) पर्यटकीय आकर्षण र सम्भावनाहरू
उपल्लो डोल्पा नेपाली मन र नेपालीपन, प्राकृतिक सौन्दर्य र संस्कार, मौलिकपन, भेषभुषा, रहनसहन र संस्कृति मौलिक स्वादको खानाको कारणले गर्दा पर्यटकको लागि आकर्षित गर्ने क्षेत्र हो । पदयात्रा गर्ने उत्कृष्ट पद मार्गको रूपमा उपल्लो डोल्पा रहेको छ । यहाँ पर्यटनका लागि धेरै सम्भावनाहरू रहेका लागि छन् । यसका साथै विभिन्न ताल, तलैया, हिमताल, उपत्यका,पठार र चौंरीचरण क्षेत्रहरू रहेका छन् ।
१.शे-फोक्सुण्डो ताल ३,६११.५ मिटर (११,८४९ फिट) को उचाइमा रहेको १६७ मिटर गहिरो अल्पाइन ताजा पानीको शे-फोक्सुण्डो ताल डोल्पाको प्रमुख आकर्षणहरू मध्ये एक हो । यो ताल अल्पाइन हावापानी क्षेत्रमा रहेको र पानी निकै चिसो भएकाले कुनै पनि जीवजन्तुहरू पाइँदैनन् । तालको किनारमा ९०० वर्ष पुरानो बोन्पो अनुयायीहरूको ऐतिहासिक त्शोवा गुम्बा रहेको छ । हरेक वर्ष बोन्पो धर्मका अनुयायीहरूले आ–आफ्ना देवताको पूजा–आराधना गर्न आउने गर्छन् ।
२.हिमाली वन्यजन्तु र वनस्पति उपल्लो डोल्पा पदयात्राको केही भाग शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज भित्र पर्छ, यहाँ धेरै वनस्पति र जीवहरू छन् । यहाँ रोडोडेन्ड्रन, सेतो हिमालयन बर्च, नीलो पाइन, भोजपत्र, तालिसपत्र, खस्रु, सुनपाती, देवदार, हेमलक, जुनिपर र स्प्रस सहित सयौँ विभिन्न प्रजातिका बोटबिरुवा र वनस्पतिहरू छन् । निकुञ्जमा धेरै लोपोन्मुख वन्यजन्तुका प्रजातिहरू नाउर, हिउँ चितुवा, खैरो ब्वाँसो र कस्तुरी मृग आदि छन् । अन्य वन्यजन्तुहरूमा पहेँलो गलाको मार्टेन, हिमालयन तहर, चितुवा, स्याल र हिमालयन कालो भालु आदि रहेका छन्।
साथै यहाँ २०० प्रजातिका चराहरू, २९ प्रजातिका पुतली र ६ प्रजातिका सरीसृपहरू पनि रहेका छन्। यो क्षेत्र यार्सागुम्बा (ओफियोकोर्डिसेप्स साइनेन्सिस) को लागि घर हो ।
३.छार्का भोट र धो-तराप बस्ती उपल्लो डोल्पाको अद्भुत आकर्षण पृथ्वीको सबभन्दा अग्लो बस्ती छार्का भोट (कतै धो तराप लेखिएको) हो । यो गाउँ ४४१० मिटर उचाइमा रहेको छ । यो गाउँमा सन् १४०० मा निर्माण गरिएको चासेन गुम्बा र अन्य गुम्बाहरू रहेका छन् । छार्का भोटले मुस्ताङबाट शुरुहुने हिमालयन ट्रेललाई जोड्दछ । मुस्ताङबाट उपल्लो डोल्पा आउने प्रवेश विन्दुको रूपमा रहेको छ । धो-तराप समुन्द्री सतहबाट ३,९०० मिटर देखि ४,२०० मिटरको उचाइमा रहेको, १७ औँ शताब्दी सम्म नेपाल एकीकरण हुनु पूर्व उपल्लो डोल्पाको केन्द्रको रूपमा रहेको थियो भन्ने जनश्रुति सुन्न पाइन्छ ।
डोल्पोका विभिन्न नौ वटा गाउँबाट एक दिनको यात्राको दुरीमा पुग्न सकिने धो-तराप निकै रणनीतिक केन्द्रमा रहेको छ। यहाँ बोन संस्कृतिलाई अनुशरण गरिँदै आएको छ, बोन मठ सहित विभिन्न मठहरू रहेका छन्।यहाँ आलु, जौ, उवा, तिते फापरको खेती गरेर जीवन निर्वाह गरिन्छ । ऊनको उत्पादन गर्न र मासुका लागि याक, भेडा च्याङ्ग्रा पालन गरिन्छ । याकको दूधबाट छुर्पी पनि बनाइन्छ। नुन र ऊन तथा अन्य सामानहरूको व्यापार तिब्बतीहरू र मुस्ताङसँग गर्ने गरिन्छ । यो क्षेत्र पदयात्राको लागि विश्वमै उत्कृष्ट रहेको छ ।
४. सुलीगाड झरना सुली गाड झरना डोल्पामा हेर्ने अर्को चीज हो। फोक्सुन्डो तालको दक्षिणी छेउमा रिङ्मो गाउँको छेउ भएर बाँध बाँधेसरि तालबाट पानी बगेको छ र छेउमा पुगेपछि सुलीगाड झरनाको रूपमा मनोरम दृश्य देख्न पाइन्छ । यो झरनाको उचाइ १६७ मिटर छ।
५.शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज सबैभन्दा ठुलो राष्ट्रिय निकुञ्ज र हिमालय पार क्षेत्रमा अवस्थित एउटा मात्रै शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जले डोल्पाको अधिकांश भूभाग ओगटेको छ। तल्लो डोल्पा देखि उपल्लो डोल्पा क्षेत्रमा फैलिएको यो निकुञ्ज उच्च उचाइमा पाइने वनस्पति र जीवजन्तुका लागि आश्रय स्थल हो। निकुञ्जमा नीलो भेडा, मार्मोट, कस्तुरी मृग, हिमालयन कालो भालु लगायतका जीवजन्तु र छ प्रजातिका सरीसृपहरू पाइन्छन् । त्यस्तै शे फोक्सुन्डो राष्ट्रिय निकुञ्जमा २९ प्रजातिका पुतली र २०० भन्दा बढी प्रजातिका चराहरू पाइन्छ । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जको पदयात्राले चराचुरुङ्गी र पुतलीहरू हेर्ने दुर्लभ अवसर पनि दिन्छ।
ग)अलौकिक संस्कृति र संस्कारहरू
१.बहुपति प्रथा डोल्पो क्षेत्रमा एक महिलाले एकभन्दा बढी पति राख्ने प्रचलन बहुपति प्रथा हो। एक ठाउँ र समुदायको सामाजिक-सांस्कृतिक अभ्यास तिनीहरूको धर्म वा जातिको आधारमा अर्कोबाट भिन्न हुन्छ। सन् १९५९ सम्म नेपाल र तिब्बतको सीमा खुला भएकोले मानिसहरू सजिलै वारपार गर्दथे,त्यति बेला देखि नै उपल्लो डोल्पाका डोल्पो जनजातिहरूको तिब्बतसँग सामाजिक, व्यापारिक तथा सांस्कृतिक सम्बन्ध रहेको छ । यहाँ खेती किसानीले नधानेर लामो समयसम्म व्यापारमा खटिनुपर्ने बाध्यताका कारणले उपल्लो डोल्पामा धेरैले बहुपति प्रथा अवलम्बन गरेको थिए । सबै भाइकी पत्नी एउटै हुँदा घरपरिवार केन्द्रमा रहने तथा अतिरिक्त अन्न जोहो गर्नु नपर्ने सहजता थियो भने अर्कोतिर कुनै भाइ घरको हेरचाह गर्ने कोही चाहिँ नुनको व्यापारमा टाढा सम्म खटिन सक्थे यो प्रथाले यहाँका बासिन्दालाई भौतिक स्रोतहरूको व्यवस्थापन गर्न सघाएको थियो, यो प्रथा रहर भन्दा पनि बाध्यताको रूपमा रहेको थियो । समय र सरोकारवालाको ज्ञानसँगै यो अनौठो संस्कृति क्रमशः परिवर्तन हुँदै गइरहेको छ । हाल आएर पूर्णरुपमा हटी सकेको छ ।
२. मृत्यु संस्कार उपल्लो डोल्पा क्षेत्रको अर्को विशिष्ट संस्कृति भनेको अन्त्येष्टि प्रथा हो, जुन अन्य भागहरू भन्दा फरक छ। यहाँ कसैको मृत्यु हुँदा लामा (पुजारी)ले मृतकको कुण्डली हेरेर अन्त्येष्टि गर्ने विधि तय गर्ने गरिन्छ। कतिपय शवको दाहसंस्कार गरिन्छ भने कतिपयलाई जलाएर खरानी बनाइन्छ । कसैको टुक्रा-टुक्राहरूमा काटेर गिद्धलाई खुवाउने गरिन्छ ।
३.शे-मेला हरेक वर्ष भदौ पूर्णिमामा मेला लाग्ने गर्दछ तर भूतात्मा र राक्षसी शैलीका विरुद्ध जितको प्रतीकको रूपमा हरेक बाह्र-बाह्र वर्षमा विशेष रूपमा मनाइने क्रिष्टल शे-मेलाले यहाँको विशिष्टता र मौलिकतालाई उजागर गरेको छ ।
घ)जडीबुटीको सम्भावना डोल्पामा जटामसी, पाँचऔले, पदम चाल,चिराइतो कटुके, सुगन्धवाल, हिमाली लसुन, गुछी च्याउ, रातो च्याउ र यार्सागुम्बा लगायतका बहु उपयोगी र बहुमूल्य जडीबुटीहरू पाइन्छन् । यहाँ विशेष गरी यार्सागुम्बालाई बढी महत्त्व दिइन्छ । संसारको सबैभन्दा महँगो जैविक स्रोत भएको र अहिले सम्म बढी पहिचान भएकोले यार्सागुम्बालाई बढी महत्त्व दिने गरिन्छ । यार्सागुम्बा हिमालयका रमणीय चुचुराहरूमा ३००० देखि ५००० मिटरको उचाइमा पाइन्छ । तिब्बतमा, यसलाई “यार्त्सा गुन्बु” भनिन्छ, जसलाई “ग्रीष्मकालीन घाँस र जाडोमा किरा” पनि भन्ने गरिन्छ । यो क्षेत्र यार्सागुम्बा (ओफियोकोर्डिसेप्स साइनेन्सिस) को लागि घर हो, वसन्त ऋतुमा टिप्ने र हिमालयमा पाइने जडीबुटी जो जमिनमुनि किरा र जमिन माथि बुटीको रूपमा चिनिन्छ । यहाँको प्रमुख आर्थिक स्रोतको रूपमा रहेको छ ।
ङ) पशुपालनको सम्भावना
भोटे नुनको व्यापार हुने बेला देखि नै उपल्लो डोल्पामा पशुपालन मुख्य पेशाको रूपमा रहँदै आएको छ । यो क्षेत्रमा नुन बोक्नको लागि याक, जोपा, घोडा, भेडा च्याङ्ग्रा पाल्ने गरिन्थ्यो । पशुहरू नुन र अनाजहरु ओसारपसार गर्ने मुख्य वाहकको रूपमा प्रयोग गरिन्थ्यो । सन् १९५९ सम्म तिब्बतबाट नुन ल्याएर भेरी नदी वरपरका मध्य पहाडी क्षेत्रहरूमा अन्नसँग सट्टापट्टा गर्थे । भेडा पालन बाट ऊन उत्पादन गरी बख्खु, दोचा, कम्बल जस्ता लत्ताकपडा बनाइन्थ्यो ।
हिमाली डोल्पो आदिबा,सीका ज्ञान, सीप र कलाबाट बनेका लुगाहरूको प्रयोग गरिन्थ्यो ।व्यावसायिक रूपमा पशुपालन नभए पनि हाल आएर पशुपालन पेशाले यहाँको जीविको पार्जनको लागि उल्लेख्य योगदान पुर्याएको छ ।यो पशुपालनको सबल पक्षको रूपमा रहेको छ । हिमाली भेडा च्याङ्ग्राको बिक्री गरेर यहाँको जीविकोपार्जनमा सहयोग पुगेको छ । हिमाली क्षेत्रको भू-बनोट र समथर पठार, हावापानीको कारणले पशुपालन पेसा उत्तम र वरदान साबित भएको छ । ऊनबाट दोचा, बख्खु, कम्बल आदि पोसाक बुन्ने गरिन्छ । घरेलु रूपमा बुन्ने ज्ञान, सीप र कलाको प्रवर्द्धन र संरक्षण नहुँदा भलै यी पेसा र पोसाकहरू हाल आएर लोप हुँदै गएका छन् ।
प्रमुख समस्याहरू
क) शिक्षा र स्वास्थ्यमा समस्या:
संविधानमा अनिवार्य र नि׃शुल्क शिक्षाको व्यवस्था गरिएको छ त्यस्तै अनिवार्य तथा नि׃शुल्क शिक्षा सम्बन्धी ऐन २०७५ ले आधारभूत तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने व्यवस्था गरेको छ माध्यमिक तहसम्म नि׃शुल्क शिक्षा लागु गराउने जिम्मेवारी स्थानीय सरकारलाई दिइएको छ अरू ठाउँ जस्तै यहाँ पनि कार्यान्वयन गर्न सकिएको छैन र वि.सं.२०३२/३३ सालमा स्थापना भएका विद्यालयहरू अहिले सम्म पनि ५ कक्षा भन्दा माथिको पठनपाठन गर्न नसक्नु,कक्षाकोठाको अभाव हुनु, धेरै विद्यालयहरूमा विद्धार्थीहरुको अभाव हुनु, कतै विद्यार्थी भन्दा कक्षाकोठा बढी हुनु, विद्यालयको आफ्नै जग्गा र भवन नहुनु आदि समस्याले गर्दा यहाँको शिक्षा क्षेत्रको यथार्थ अवस्थाको चित्रण गर्दछ । लामा पढाउने संस्कारले गर्दा विद्यालय शिक्षा बिस्तारै प्राथमिकतामा पर्ने अवस्थामा रहेको छ ।
शिक्षाको विकासका लागि सङ्घीय सरकार र स्थानीय सरकारको प्राथमिकतामा परेको छैन । उपल्लो डोल्पामा व्यवस्थित रूपमा सञ्चालन भएका विद्यालयहरूमा दाताहरूको सहयोगमा सञ्चालन भएका छन् । विविध भौगोलिक सांस्कृतिक भाषिक परिवेश जनजीवन अनुसार स्थानीय पाठ्यक्रम बनाएर लागु गर्न सकिएको छैन भने अर्को तर्फ अपर्याप्त बजेटले गर्दा शिक्षा क्षेत्रको विकास भएको छैन ।
स्वास्थ्य संस्था भन्दा धेरै टाढा छरिएका बस्तीहरू र स्वास्थ्य संस्थाहरूमा हुने औषधी उपकरण औजारहरूको अभावले गर्दा सधैजसो आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनु परेको छ । अकालमा सुत्केरी, गर्भवती र नवजात शिशुले ज्यान गुमाउनु पर्ने बाध्यता रहेको छ । नि:शुल्क रूपमा पाइने औषधीहरू यहाँको भूगोल र मौसम अनुसार फैलिने रोगहरूको रोकथाम र उपचारमा प्रयोग नै हुँदैनन् । परम्परागत बोन बौंध्द धर्मालम्बीहरुको आम्ची उपचार प्रणाली प्रतिको विश्वासले गर्दा पनि स्वास्थ्य सेवा प्राथमिकतामा परेको छैन । सुविधा सम्पन्न अस्पतालको अभावले गर्दा गुणस्तरीय र विशेषज्ञ सेवा पाउन अझै पनि मुस्किल रहेको छ ।
ख)जलवायु परिवर्तनको असर:
नेपालमा सन् २०८० सम्म नेपालको तापक्रम १.२ देखि ४.२ डिग्री सेन्टिग्रेडसम्म बढ्ने प्रक्षेपण गरिएको छ । जसको प्रत्यक्ष असर उपल्लो डोल्पा लगायतका हिमाली क्षेत्रमा पर्ने देखिन्छ । जलवायु परिवर्तनको कारणले हिमपात कम हुँदा जनजीवन र पर्यापर्यटनमा असर पुग्ने देखिन्छ। मानव र परिस्थिति प्रणाली नराम्रो सँग प्रभावित भएको छ, जसको कारण जौ, फापर, आलु खेतीमा असर पुगेको छ। पानीको मात्रामा कमी आएको छ । जसबाट स्थानीय रैथाने बालीहरूको उत्पादनमा असर पुगेको छ जसबाट याक, जोपा, घोडा, भेडा च्याङ्ग्रा पालनमा असर पुग्नु । नाउर र हिम चितुवा लोप हुने अवस्थामा पुगेका छन् । जलवायु परिवर्तनको कारणले वर्षा प्रक्रिया (अतिवृष्टि, अनावृष्टि, सघन वृष्टि) तथा ऋतुकालमा समेत परिवर्तन आएको हुँदा त्यसको असर उपल्लो डोल्पामा बढी परेको छ । यसबाट जलस्रोत कृषि वन तथा जैविक विविधता स्वास्थ्य प्रकोप तथा जीविकोपार्जनमा प्रत्यक्ष तथा अप्रत्यक्ष परेको छ । यार्सागुम्बा लगायतका बहुमूल्य जडीबुटीहरू कम मात्रामा पाइने र लोप हुने अवस्थामा पुगेका छन् । त्यसैपनि प्राकृतिक विपत्तिका दृष्टिकोणबाट अत्यन्त जोखिमपूर्ण क्षेत्रका रूपमा पहिचान भइरहेको उपल्लो डोल्पाको भौगोलिक अवस्थिति र जलवायु परिवर्तनको कारणले थप जोखिमशील बन्न पुगेको छ ।
ग)सडक सञ्जाल र विद्युतीकरणको पहुँच नहुनु:
उपल्लो डोल्पा सडक सञ्जालसँग अझैसम्म नजोडिँदा र पूर्वाधारहरूको विकास नहुँदा त्यसको प्रत्यक्ष असर जनजीवनमा परेको छ । सधैँ राज्यबाट उपेक्षित यो क्षेत्रमा अझै विकासका पूर्वाधारहरू बनेका छैनन् । विकास कसैको निगाहाबाट प्राप्त हुने उपहार जस्तो भएको छ । सडक सञ्जाल नपुग्नाले सामानहरू ढुवानीका लागि घोडा खच्चड र चौरीमा निर्भर हुनु परेको छ । विद्युतीकरणको प्रबल सम्भावना भए पनि सिङ्गो डोल्पा जिल्ला राष्ट्रिय प्रसारणसँग जोडिएको छैन । जसले गर्दा यहाँको जनजीवन कष्टकर भएको छ । वैकल्पिक र नवीकरणीय ऊर्जाको सम्भावना भए पनि त्यसको उचित अनुसन्धान र प्रयोग भएको छैन । सेवा सुविधाहरू नपुग्दा अझै पनि छाना, नाना, खानाको लागि सङ्घर्ष गर्दै अपहेलित हुनु परेको छ ।
घ)सम्पदाको संरक्षण नहुनु:
उपल्लो डोल्पामा भएका परम्परागत धार्मिक र ऐतिहासिक पुरातात्त्विक सम्पदाको संरक्षण भएको छैन । बुद्ध धर्मका दर्जनौँ धार्मिक ग्रन्थहरू र प्राचीन मूर्तिहरू चोरी भएर हराएका छन् । चोरी भएका रुजनौं नवीकरणीय ऊर्जाको प्रवलामा पुगेका मूर्तिहरू र सम्पदाहरूको खोजी कार्यले पनि गति लिन सकेको छैन । उपल्लो डोल्पाको इतिहासका तथ्यहरूको बारेका विस्तृत रूपमा अध्ययन तथा अनुसन्धान पनि गरिएको छैन । यस क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अध्येतालाई ध्यानाकर्षण गर्न पनि सकिएको छैन । यहाँको सभ्यता र सम्पदा नै सङ्कटमा पर्ने अवस्थामा रहेको पाइन्छ ।
ङ)विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन प्राथमिकतामा नहुनु:
सिङ्गो विश्वलाई नै सङ्कटमा पार्ने विपद् जोखिमले पनि उपल्लो डोल्पा बढी प्रभावित हुने भएकोले एकीकृत बस्ती विकास नहुनु सेवा प्रवाह गर्न असहज हुनु । हिम पहिरो,पहिरो भूकम्प बाढी,चट्याङ लगायतका प्राकृतिक विपद्ले जनजीवन प्रभावित भई बर्षेनी धनजनको क्षति भई रहेको छ । भोकमरी,महामारी र कुपोषणका कारणले पनि जनजीवन आक्रान्त हुने गरेको छ । जोखिम क्षेत्र र बस्तीको पहिचान गरी त्यसको स्थानान्तरण गरेर एकीकृत बस्तीको विकास गरिएको छैन । स्थानीय सरकारहरू वातावरणीय प्रभाव मूल्याकंन विना सडक खन्ने अन्य संरचना निर्माण काममा लागेका छन् र स्थानीय विपद् व्यवस्थापन समितिले प्रभावकारी काम पनि गर्न सकेका छैनन् । विपद्को पूर्व तयारी खोजी उद्धार तथा राहत वितरण कार्यमा उल्लेखनीय कार्यहरू हुन सकेको छैन ।
सुझावहरू
विशेष स्वायत्त क्षेत्र घोषणा गर्नुपर्ने:- एकै भाषा र संस्कृति भएका समुदायको बाहुल्यता भएको, सामाजिक, आर्थिक विकास सूचकाङ्कमा राष्ट्रिय औसतमा कम भएको, यातायात र पूर्वाधारको अभावको कारण भौगोलिक रूपमा दुर्गम भएको र गरिबीको रेखामुनि र गरिबीको विषमता बढी भएकोले उपल्लो डोल्पाका तीन वटा पालिकालाई समेटेर विशेष स्वायत्त क्षेत्र घोषणा गरी सङ्घीय, प्रदेश र स्थानीय सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने । सन् १९६० मा राजा महेन्द्रले मनाङेहरूलाई विशेष राहदानीको व्यवस्था गरे जस्तै उपल्लो डोल्पालीहरुलाई अन्तर्राष्ट्रियस्तरमा पहुँचको लागि विशेष राहदानीको व्यवस्था गर्नुपर्ने र व्यापार व्यवसायको प्रवर्द्धन गर्नुपर्ने ।
अन्तर्राष्ट्रिय सीमा सुरक्षा र व्यवस्थापनको लागि सङ्घीय सरकारले उपल्लो डोल्पाका मुख्य सीमा नाकाहरू मोरिम्ला, क्यादो (साल्दाङ), जाके पास र डाक्नाक पास (पिलर नं १७) लाई व्यवस्थित र सुविधायुक्त बनाउनु पर्ने । त्यसको लागि कूटनीतिक पहल र प्रयास गर्नुपर्ने ।
सकारात्मक विभेद र आरक्षणको व्यवस्था:– राज्यका विभिन्न निकायमा उपल्लो डोल्पाको प्रतिनिधित्वका लागि आरक्षण र सकारात्मक विभेदको रणनीति अवलम्बन गरी कार्यान्वयन गर्नुपर्ने । निजामती सेवा, सुरक्षा निकाय, संस्थान, प्रतिष्ठान लगायत अन्य सरकारी सेवामा उपल्लो डोल्पामा बसोबास गर्नेहरूको लागि आरक्षणको व्यवस्था गरिनु पर्ने ।
पूर्वाधार,आर्थिक र सामाजिक विकासको लागि:-
मुस्ताङ-कागबेनी-साङ्ट-याकखर्क- छार्का-तिन्जे- धो हुँदै साल्दाङ सम्मको सडक मार्गलाई प्राथमिकता दिई ट्रयाक खोल्नु पर्ने र राष्ट्रिय कोरिडोरको रूपमा विकास गर्नुपर्ने ।
उपल्लो डोल्पाको लाइफ लाइनको रूपमा रहेको दुनै-लासिक्याप-धो–तिन्जे हुँदै मोरिम्ला नाका सम्मको सडक निर्माणको कार्य द्रुत गतिमा हुनु पर्ने ।
उपल्लो डोल्पामा हुने जैविक उत्पादनहरू फापर, आलु, जौ आदि कृषि बस्तुको बजारीकरण गर्नुपर्ने । वनस्पति विज्ञहरूबाट बहुमूल्य जडीबुटी र वनस्पतिको लागि विस्तृत अध्ययन र अनुसन्धान हुनु पर्ने । जीविको पार्जनको लागि वैकल्पिक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने । यातायात सडक, शिक्षा,स्वास्थ्य आदिको विकास प्याकेज संयुक्त रूपमा सञ्चालन गर्नुपर्ने ।
विविधता व्यवस्थापनको लागि:-
उपल्लो डोल्पामा रहेका ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्त्विक र प्राकृतिक सम्पदाहरूको पहिचान, संरक्षण र प्रवर्द्धनमा जोड दिनुपर्ने ।
डोल्पो (भोटे) समुदायको भाषा, लिपी, संस्कृति, कला, साहित्य र सम्पदाहरूको संरक्षण र विकास गर्नुपर्ने ।
विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको लागि:-
विपद्को बारेमा बुझाइ, विपद् व्यवस्थापन योग्य सरकार, विपद् जोखिम न्यूनीकरणमा लगानी र बिल्ड ब्याक बेटरमा विशेष रूपमा जोड दिनुपर्ने देखिन्छ ।
भू-उपयोग योजना तयार गरेर कार्यान्वयन गर्नुपर्ने । प्राकृतिक प्रकोपबाट हुने जोखिम न्यूनीकरण गर्नको लागि पूर्व तयारी, उद्धार, राहत एवं पुनर्स्थापना कार्यमा विशेष जोड दिनुपर्ने । योजनाबद्ध र व्यवस्थित बस्ती विकासमा जोड दिनुपर्ने ।
पर्यटन विकास र प्रवर्द्धनको लागि:-
उपल्लो डोल्पाको रैथाने खाना सहित होम स्टेको प्रवर्द्धन गर्नुपर्ने । भाषाको तालिम दिनुपर्ने । पदमार्गको व्यवस्थापन गर्ने र नयाँ पदमार्गको पहिचान र खोजी गर्नुपर्ने पदयात्रामा आधारित पर्यटनलाई प्रवर्द्धन गर्नुपर्ने। साहसिक पर्यटनका लागि साहसिक खेलहरू स्नो स्किटिङ,साईकिलिङ, कायाकिङ लगायतका साहसिक पर्यटनको सम्भाव्यता अध्ययन गरी विकास गर्नु पर्ने । पर्वतारोहण र पदयात्रा सम्बन्धी तालिमको व्यवस्था हुनु पर्ने र पर्यटनको लागि सरकार र निजी क्षेत्र बिचमा समन्वय हुनुपर्ने ।
अन्तमा, वैविध्यपूर्ण प्राकृतिक छटा, विपुल जैविक विविधता र जीवन्त संस्कृतिको धनी डोल्पा पर्यटकको लागि रोजाइको केन्द्र बन्नुपर्छ । यस क्षेत्रको प्राकृतिक पक्ष र संस्कृति परम्पराको संरक्षण गर्दै हिमाली पाखा, पखेराको जीवनशैली, सुखदु:ख, संस्कृतिको अनुभव र अनुभूति गर्दै उपल्लो डोल्पाको विकास र सम्वृध्दिमा सहयोग गर्नु जरुरी भएको छ । विशिष्ट भूगोल र क्षेत्रको विकासका लागि तीनै तहको सरकार, नागरिक समाज, निजी क्षेत्र र गैरसरकारी संस्थाहरूको समन्वय र सहकार्यको बुलेट ट्रेन छुटेमा सबैलाई पश्चात्ताप हुनेछ ।
सेजुवाल छार्का ताङसोङ गाउँपालिका, डोल्पाका प्रमुख प्रशासकीय अधिकृत हुन् ।