काठमाडौँ । राष्ट्रिय सहकारी महासङ्घले सहकारीका ऋणी सदस्यहरूलाई समयमा नै नियमित किस्ता तथा ब्याज भुक्तानी गरी अन्य सदस्यहरूको बचत रकम फिर्ता गर्न सहज वातावरण बनाइ दिन आग्रह गरेको छ ।
बुधबार महासङ्घले एक अपिल जारी गर्दै केही संस्थाबाट भएका गलत क्रियाकलापको हल्लाका कारण सबै सहकारी संस्थाहरू उस्तै हुन् भन्ने बुझाइले सदस्यहरूबाट एकैपटक बचत फिर्ता लिन खोज्दा संस्थाको तरलता व्यवस्थापनमा कठिनाइ भई संस्थामा गम्भीर असर पर्न जाने भएकोले सम्पूर्ण सदस्यहरूलाई संयमताका साथ नियमित कारोबार गर्न आह्वान गरेको छ ।
‘सहकारी सङ्घ-संस्थाहरूले बचत रकमको सामान्यतया ८० प्रतिशतसम्म सदस्यहरूलाई नै विभिन्न प्रयोजनमा कर्जा प्रवाह गर्ने भएको हुँदा ऋणी सदस्यहरूलाई समयमा नै नियमित किस्ता तथा ब्याज भुक्तानी गरी अन्य सदस्यहरूको बचत रकम फिर्ता गर्न सहज वातावरण बनाइ दिन हुन अनुरोध छ’ महासङ्घको अपिलमा भनिएको छ ।