काठमाडौँ । काठमाडौँ महानगरपालिकी कार्यवाहक मेयर सुनिता डङ्गोलले स्थानीय सरकारलाई ऐनमा बजार अनुगमनको अधिकार दिएपनि कार्यान्वयन गर्नलाई हात बाँधी दिएको गुनासो गरेकी छन् ।
बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौँमा आयोजना भएको मूल समारोह कार्यक्रममा बोल्दै उप-प्रमुख डङ्गोलले ऐनमा स्थानीय तहलाई बजार अनुगमनको अधिकार दिएपनि कार्यान्वयन गर्ने अधिकार खोसिदिएको गुनासो गरेकी हुन् । उनले बजार अनुगमनको अधिकार मात्रै नभएर कार्यान्वयन गर्नको लागि आवश्यक कानून बनाउनुपर्ने बताइन् ।
उनले काठमाडौँ महानगरले आफ्नो काम कर्तव्य ,अधिकार र उपप्रमुखको प्रमुख अधिकारमा बजार अनुगमनलाई राखी तिब्रगतिमा सञ्चालन गर्ने काम गरिरहेको बताइन् । उनले स्थानीय तहलाई कार्यान्वयन गर्न कानून नभएकाले महानगरले अनुगमन गर्दा विभिन्न समस्याहरू झेल्नुपरेको बताइन् ।
उनले स्थानीय तहको अधिकार क्षेत्रमा महानगरले अनुगमनलाई प्रभावकारी बनाउन ऐन संशोधन गर्ने काम र अनुगमन तीव्र गतिमा अगाडि बढाउनको निम्ति सङ्घ प्रदेश सरकारसँग समन्वय गरिरहेको जनाइन् । डङ्गोलले तीनै तहमा सहकार्य समन्वय गरेर सह–अस्तित्वलाई स्वीकार गर्नुपर्छ भने पनि विभिन्न काम कर्तव्यहरू दोहोरो रहेको बताइन् ।
उनले दोहोरो काम कर्तव्य हुँदा पनि काम गर्न अप्ठ्यारो भएको बताइन् । उनले उपभोक्ताहरूको हक अधिकार सुनिश्चित गर्न दोहोरो काम कर्तव्यलाई नीतिगत रूपमा नै सुधार गर्नुपर्ने आजको आवश्यक रहेको बताइन् ।
उनले बजार अनुगमन व्यक्तिगत भन्दा पनि स्वचालित प्रणालीमा हुनुपर्ने बताइन् । उनले महानगरले उपभोक्ताको हक अधिकार सुनिश्चित गर्नको लागि तत्पर रहेको भन्दै सबैले फिल्डमा काम गर्दा निष्पक्ष भएर काम गर्न सक्नुपर्ने बताइन् ।
त्यस्तै उप-प्रमुख डङ्गोलले बजार अनुगमन गर्दा व्यक्तिगत स्वार्थको कारण विभिन्न समस्या भोगिरहेको बताइन् । उनले व्यक्तिगत स्वार्थ राख्नेहरूले पनि आफू पनि उपभोक्ता हो भनेर सोच्न जरुरी रहेको उल्लेख गरिन् । उनले महानगरमा निर्वाचित भएर आएको ९ महिनाको कार्य अनुभवमा बजार अनुगमन गर्न जाँदा व्यवसायीहरूले थाहा पाइसक्ने गरेको बताइन् ।
उनले अनुगमन गर्न जाने समितिमा बस्ने सदस्य बाहेकलाई भन्दा अन्य अरूलाई अनुगमन गर्ने विषयमा थाहा नहुनुपर्ने हो तर अनुगमन गर्ने स्थानका व्यवसायीहरूलाई थाहा हुन्छ कसरी भन्दै प्रश्न गरिन् । उनले अनुगमन टोली पुग्दा व्यवसायीहरूले सटर लगाई सकिएको हुने भएको हामी आफै जिम्मेवार हुनुपर्ने बताइन् ।
उनले अनुगमनमा जाने कुनै पनि अधिकारीले राजनीतिक गर्न नहुने बताइन् ।