अनुसन्धान विभागका कर्मचारीको रहस्यमय मृत्यु, १२ जना प्रहरी नियन्त्रणमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अनुसन्धान विभागका कर्मचारीको रहस्यमय मृत्यु, १२ जना प्रहरी नियन्त्रणमा


१५ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । वनभोज खान गएका बेला चमेलिया नदीमा मृत भेटिएका राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीको हत्या आशङ्कामा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

विभागको सहायक सूचक पदमा बझाङमा कार्यरत बैतडीको दशरथचन्द नगरपालिका-१० का जीवन बुडालको हत्या भएको हुन सक्ने भन्दै आफन्तले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएपछि १२ जनालाई नियन्त्रणमा लिइएको छ। 

नियन्त्रणमा लिइएको १२ जना वनभोजमा संलग्न भएको प्रहरीले जनाएको छ। मृतकसँग वनभोजमा गएका ११ जना र एकजना सवारी चालक गरी १२ जनालाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए। 

दरशथचन्द नगरपालिका-१० खडेनीका बुडाल गत शनिबार चमेलिया नदीको दोगडाकेदार गाउँपालिका-४ जाडाबगड भन्ने ठाउँमा साथीहरूसँग वनभोज गएका थिए। त्यही साँझ उनको लास फेला परेपको थियो। सँगै वनभोज गएकाहरूले जीवनको पौडी खेल्ने क्रममा बगेर मृत्यु भएको बताएका छन्। 

घटनास्थलमा लासको प्रकृति हेर्दा उनको मृत्यु शङ्कास्पद भएको भन्दै वनभोज गएका सबैमाथि अनुसन्धानको माग आफन्तले गरेका छन् । 

चमेलिया नदीमा मृत भेटिएका बुडालको बायाँ आँखामाथि र छातीमा घाउ भएको आफन्तको भनाई छ । वनभोजमा मृतक बुडालका आफ्नै भिनाजु र छिमेकी गाउँका युवा थिए। उनीहरूको कुरा पनि एक आपसमा जुधेको आफन्तले बताएका छन्। 

मृतक बुडालसँग वनभोजमा गएकाहरूले रमाइलो गर्नेक्रममा उनी पौडी खेल्न केही माथि गएको र धेरै बेरसम्म नआएपछि खोजी गर्दा आफूहरूले फेला पार्न नसकेको बताएका छन्। 

उनीहरूले नदीमा एक्कासि पानीको सतह बढेकाले मृतक बुडाल बगेको हुन सक्ने बताएका छन्। 

तल आएर खाना खाएपछि करिब दुई घण्टाको बाटो पार गरेर शेरा प्रहरी चौकीमा उक्त कुरा जानकारी गराएको उनीहरूको भनाई छ ।  

वनभोजमा गएकाहरूले चमेलियामा सतह बढेको बताए पनि चमेलिया जलविद्युत् आयोजनाले भने ड्याम नखोलिएको बताएको छ। 

दिउँसो १ बजे बेपत्ता भएको बुडालबारे साँझ ६ बने मात्र खबर पुगेको प्रहरीले बताएको छ। प्रहरीले उनको खोजी गर्दा वनभोज स्थलभन्दा केही टाढा नदीमा लास फेला पारेको थियो। सोमबार मृतक बुडालको पोस्टमार्टम गरिएको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस