‘लघुवित्तको समस्या समाधान गर्न गम्भीर छौँ’  « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

‘लघुवित्तको समस्या समाधान गर्न गम्भीर छौँ’ 


१० फाल्गुन २०७९, बुधबार


काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले लघुवित्त वित्तीय संस्थाहरूको समस्या समाधान गर्न सरकार गम्भीर भएर लागिपरेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकपश्चात् संसद् भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।

लघुवित्तमा देखिएको वर्तमान समस्या समाधानका लागि सरोकारवालासँग गम्भीर रूपमा छलफल भइरहेको उनले बताए । “लघुवित्तका समस्याको सम्बन्धमा ध्यानाकर्षण भएको मात्रै होइन, यो विषयमा गम्भीर भएर सरोकारवालाहरूसहित बैठक बसेका छौँ,” उनले भने ।

विभिन्न चरणमा बैठक बसेर केही महत्त्वपूर्ण निर्णयहरू समेत भइसकेको उनको भनाइ छ । अर्थमन्त्री पौडेलले अहिले लघुवित्तका ऋणीहरू प्रभावित हुने अवस्था आएको भन्दै समस्या समाधानका लागि सम्बन्धित निकायले काम थालेको बताए ।

“केही महत्त्वपूर्ण निर्णयहरू पनि गरेका छौँ । लघुवित्तको क्षेत्रमा जुन प्रकारको समस्या छ, लघुवित्तका ऋणीहरू प्रभावित हुने अवस्था आएको छ,” उनले भने, “समस्या आउनुको कारणहरू खोजेर त्यसको समाधानको लागि सम्बन्धित निकायहरू लागिसकेका छन् । त्यसका परिणामहरू निरन्तर आउँदै छन् ।”

उनले अर्थतन्त्रमा देखिएको समस्या र चुनौतीको समाधान गर्न सरकार केन्द्रित भएको जिकिर गरे । राजस्व परिचालन, अन्तर्राष्ट्रिय सहयोग परिचालन र पुँजीगत खर्च बढाउनेतर्फ सरकार लागिपरेको उनले उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस