बङ्गलादेश विद्युत् निर्यात गर्न भारतद्वारा आयोजनाको नाम माग « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बङ्गलादेश विद्युत् निर्यात गर्न भारतद्वारा आयोजनाको नाम माग


८ फाल्गुन २०७९, सोमबार


काठमाडौँ । नेपालबाट बङ्गलादेशमा विद्युत् निर्यातका लागि भारतले एक तहको अग्रसरता देखाएको छ । भारतले आफ्नो भूमि हुँदै बङ्गलादेशसम्म प्रसारण लाइन प्रयोग गर्न ‘नेपालले कुन आयोजनाको बिजुली पठाउने हो, त्यसको नाम तोकेरै प्रस्ताव पेस गर्न’ आग्रह गरेको छ ।

यसलाई अड्को र आशा दुवै रूपमा टिप्पणी गर्न सकिने सरोकारवालाको दाबी छ । नेपाली पक्षले यस पटक भारतको बाटो हुँदै बङ्गलादेशसम्म बिजुली निर्यात गर्न भारतलाई सहमति गराउने प्रयास गरेको थियो । प्रस्तावको प्रत्युत्तरमा नेपाललाई आयोजनाको नाम प्रस्ताव गर्न भनेको हो ।

नेपालले भारतसँग सुरुवातमा कम्तीमा ५० मेगावाट बिजुली भए पनि बङ्गलादेशलाई बिक्री गर्न अनुमति माग्दै आएको छ । गत भदौ दोस्रो साता नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय बैठकमा नेपालबाट बङ्गलादेशले पहिलो चरणमा ५० मेगावाट बिजुली लैजाने सहमति भएको थियो । बैठकमा नेपालबाट बङ्गलादेशसम्म बिजुली पुर्‍याउन भारतीय प्रसारण लाइन चाहिने र त्यसका लागि बङ्गलादेश र नेपाल दुवैले भारतलाई अनुमतिका लागि अनुरोध गर्ने सहमति भएको थियो । उक्त बैठकपछि नेपालले भारतसामु बङ्गलादेशसम्म विद्युत् बिक्री गर्न उसका संयन्त्र र भूमि प्रयोगको अनुमति माग्दै आएको थियो ।

शनिबार सम्पन्न नेपाल-भारत १० औँ ऊर्जा सचिवस्तरीय बैठकमा पनि भारतले अनुमतिको सट्टा हाललाई बिजुली लैजाने आयोजनाको नाम माग गरेको हो । भारतले बङ्गलादेश विद्युत् निर्यात गर्न निश्चित आयोजनासहित प्रस्ताव पठाए स्वीकृत गर्न सकिने आश्वासन दिएको छ । बैठकले अधिकांश पुरानै एजेन्डालाई कार्यान्वयन गर्ने सहमति गरेको छ ।

सम्बन्धित समाचार : ‘नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक कोशेढुंगा साबित भयो’ 

Tags :
प्रतिक्रिया दिनुहोस