पशुपतिमा वाईफाई चाहियो भन्दै भारतीय जोगीले गरे भक्तजनमाथि कुटपिट « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पशुपतिमा वाईफाई चाहियो भन्दै भारतीय जोगीले गरे भक्तजनमाथि कुटपिट


७ फाल्गुन २०७९, आइतबार


काठमाडौँ । महाशिवरात्रिका दिन भारतबाट आएका जोगीहरूले शनिबार पशुपति मन्दिरमा वितण्डा मच्चाएका छन् । उनीहरूले वाइफाइ चाहियो भन्दै हल्लाखल्ला गर्नेदेखि दर्शनार्थीहरुलाई लखेटेर कुटपिट गर्नेसम्मका हर्कत गरे । तर, प्रहरीले कसैलाई पनि पक्राउ गरेको छैन ।

सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको छ, जसमा नागाबाबाहरुको झुन्डले हातमा लौरो बोकेर दर्शनार्थीलाई लखेटेको र कुटेको देखिन्छ । मन्दिरकै गेटनजिक उनीहरूले यसरी दर्शनार्थीमाथि जाइलागेका थिए । भिडिओमा बाबाहरूले दक्षिणा थोरै भएको भन्दै आक्रोश व्यक्तगरेको पनि सुनिन्छ ।

हरेक वर्ष महाशिवरात्रिमा भारतबाट हजारौँको संख्यामा नागाबाबा र जोगीहरू आउने गरेका छन् । पशुपति क्षेत्र विकास कोषले उनीहरूको रेखदेख मात्रै होइन केही दिनको खान बस्ने व्यवस्था गरेको हुन्छ । साथै केही दक्षिणासमेत दिएर बिदा गर्छ ।

महाशिवरात्रिका दिन पशुपति क्षेत्रका विभिन्न निर्धारित स्थानमा नागाबाबाहरु बस्छन् । उनीहरूलाई भक्तजनहरूले पैसा दान पनि गर्छन् । तर यस्ता नागाबाबाहरुको हर्कत भने सामान्य खालका हुँदैनन् । हरेक शिवरात्रिमा उनीहरू दक्षिणाको विषयलाई लिएर लफडा गर्छन् । महिला भक्तजनप्रति अभद्र तरिकाले प्रस्तुत हुन्छन् । यसपालि त उनीहरूले झनै अराजकता देखाए ।

सोही क्रममा एक नागाबाबाले युट्युब च्यानलमा आपत्तिजनक अभिव्यक्तिहरू समेत दिए । भारतकै रोटी खाएर बाँचेका नेपालीहरूले आफूहरूलाई अपमान गरेको भन्दै उनी जङ्गिएको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

नागाबाबाहरु उत्तेजित बन्नुको ठूलो कारण थिएन । उनीहरूले आफूहरूलाई खानबस्नको व्यवस्था राम्रो नभएको भन्दै आक्रोश पोखिरहेका बेला एक भक्तजनले साधुलाई केको आलिसान व्यवस्था चाहियो भन्दै प्रश्न गरेका थिए । त्यसैको रिसमा उनीहरू ती भक्तजनमाथि जाइलागेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवती अधिकारीले बताए ।

उनले लोभलालच, लाज र संसारलाई त्यागेर हिँडेका नागाबाबाहरुले सानातिना कुरामा चित्त दुखाएर यस्तो रवैया देखाउनु दुखको कुरा भएको उल्लेख गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस