चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई छाता प्रतिष्ठान बनाउँछौँ : मन्त्री गिरी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई छाता प्रतिष्ठान बनाउँछौँ : मन्त्री गिरी


५ फाल्गुन २०७९, शुक्रबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई छाता प्रतिष्ठानको रूपमा विकास गर्ने र प्रमुख संघीय अस्पताललाई शैक्षिक संस्थाको रूपमा विकास गर्दै लैजाने नीति लिएको बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको तेस्रो दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै मन्त्री गिरीले भने, ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पताललाई केन्द्रमा राखेर यस प्रतिष्ठानको गठन गरेको थियो । तर समयानुकूल हुँदै गर्दा यसको दायरा पनि फराकिलो हुनुपर्छ र यस चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानलाई अब छाता प्रतिष्ठानको रूपमा विकास गर्दै देशका प्रमुख संघीय अस्पताललाई टिचिङ इन्स्टिच्युट (शैक्षिक संस्था)को रूपमा विकास गर्दै लैजाने नीति लिएको अवगत गराउन चाहन्छु ।’

यसबाट सेवाको गुणस्तरमा उल्लेख्य सुधार ल्याउने मात्र नभई स्वास्थ्य अनुसन्धान, स्वास्थ्यका जनशक्तिको उत्पादन र विविध विद्याबीचको परस्पर सिकाइलाई पनि प्रोत्साहित गर्ने मन्त्री गिरीको विश्वास छ ।

विशेषज्ञ चिकित्सक उत्पादनमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अग्रणी भूमिका खेलेको भन्दै उनले प्रशंसा गरे ।

भविष्यमा अझ धेरै विद्या र धेरै तहका शैक्षिक कार्यक्रमसहित देशको प्रमुख स्वास्थ्य विज्ञान प्रतिष्ठानको रूपमा यसलाई स्थापित गर्न उनले शुभकामना दिए । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सबै खालका सहयोग गर्न तयार रहेको मन्त्री गिरीले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस