काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आफ्ना कर्मचारीहरूलाई खर्चसहित पुनर्ताजगी (रिफ्रेसमेन्ट) भ्रमण बिदा दिने भएको छ । महानगरपालिकाले पुनर्ताजगी बिदासम्बन्धी कार्यविधि, २०७९ ल्याउँदै प्रत्येक वर्ष १५ दिनको बिदा दिने व्यवस्था ल्याएको हो ।
‘यस्तो बिदा प्रत्येक वर्ष १५ दिनमा नबढाई दिइने छ । उक्त बिदालाई एकै पटक वा दुई पटक गरी स्वीकृत गर्न सकिने छ । तर एक पटकमा ७ दिनभन्दा कम अवधिका लागि भने पुनर्ताजगी बिदा स्वीकृत गरिने छैन’ ऐनमा भनिएको छ ।
दुई पटक बिदा बस्ने कर्मचारीले बिदा लिने पटकहरूको बीचमा कम्तीमा ४ महिनाको अवधि फरक हुनुपर्ने ऐनमा उल्लेख छ । बिदा लिने कर्मचारीले स्वदेशका विभिन्न स्थानहरूको अध्ययन तथा अवलोकन भ्रमण गर्नुपर्ने महानगरले जनाएको छ ।
कार्यविधि अनुसार पुनर्ताजगी बिदामा बस्ने कर्मचारीले खाइपाइ आएको तलबको १५ दिन बराबरको तलब पाउने व्यवस्था रहेको छ ।
कार्यविधिमा भनिएको छ, ‘बिदामा बस्ने कर्मचारीले बिदाबापत पाउने सुविधा अग्रिम रूपमा माग गरेमा अधिकार प्राप्त अधिकारीबाट स्वीकृत गरी पेस्कीको रूपमा उपलब्ध गराइने छ, कुनै कर्मचारीले पुनर्ताजगी बिदा सुविधा दुई पटक गरी लिएमा निजले पाउने सुविधालाई समानुपातिक रूपमा हिसाब गरी उपलब्ध गराउनुपर्ने छ ।’
महानगरपालिकाले कम्तीमा पाँच जना कर्मचारीको समूह बनाई पुनर्ताजगी बिदा लिई भ्रमणमा जान चाहेमा कार्यालयको काममा बाधा नपुग्ने गरी सामूहिक बिदा दिन सक्ने पनि कार्यविधिमा व्यवस्था रहेको छ ।
आर्थिक वर्षको अन्तिम महिना असारमा भने पुनर्ताजगी बिदा नदिने महानगरले जनाएको छ । साथै महानगरपालिकामा कम्तीमा ६ महिना अविच्छिन्न रूपमा कामकाज नगरेको कर्मचारीले पुनर्ताजगी बिदा माग गर्न नपाउने, निलम्बन भएको अवधि नपाउने व्यवस्था कार्यविधिमा राखेको छ ।
कार्यविधिमा अध्ययन बिदा लिएको, असाधारण बिदा लिएको, ६ महिनाभन्दा बढी अवधि अन्य कार्यालयमा काजमा गएको, करारमा नियुक्त भएको ६ महिना नपुगेको कर्मचारीले पनि यस्तो बिदा लन नपाउने रहेको छ ।