बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानुन बनाऔँ : दिनेश थपलिया « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानुन बनाऔँ : दिनेश थपलिया


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउने गरी कानून बनाउनुपर्ने बताएका छन् । बिहीवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आम मतदाताहरुले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानून बनाउनुपर्ने बताएका हुन् । उनले अन्तिम मतदाता नामावलीमा नाम प्रकाशित भएका मतदाताले अस्थायी बसोवास भएको ठाउँबाट पनि समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत मतदान गर्न पाउनुपर्ने बताए ।

उनले कर्मचारी र कैदीबन्दीलाई यसैपटक समानुपातिकमा मतदान गर्न दिइएको उल्लेख गर्दै आगामी दिनमा कानून बनाएर आम मतदातालाई दिइनुपर्ने बताए । यस्तो व्यवस्था गर्न सकेमा मतदान गर्नेको संख्या बढ्ने उनको भनाइ छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले जनअनुमोदित राजनीतिक दलहरुलाई मात्रै सर्वदलीय बैठकहरुमा समावेश गराउने प्रावधान राख्नेगरी आयोगले निर्णय गर्न लागेको बताए । उनले जिल्लामा सर्वदलिय बैठक राख्नुपरेमा सो जिल्लामा पार्टीको जिल्ला समितिको विवरण पेस गरेको, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गरेको दलहरुलाई मात्रै बोलाउन आफूले निर्देशन दिएको बताए ।

उनले आयोगले समावेशिता र लैंगिक समानतालाई अत्याधिक समेटेर निर्वाचन कानून तयार गरिरहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस