घाइते सांसद भण्डारीको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे काँग्रेस र एमालेका नेताहरू « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

घाइते सांसद भण्डारीको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगे काँग्रेस र एमालेका नेताहरू


४ फाल्गुन २०७९, बिहिबार


काठमाडौँ । ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भई कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारी र उनकी आमा हरिकलाको स्वास्थ्य अवस्था बुझ्न नेपाली काँग्रेस र नेकपा एमालेलगायत पार्टीका नेताहरू अस्पतालमा पुगेका छन्।

काँग्रेसका नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा र केन्द्रीय सदस्य एनपी साउद, प्रदीप पौडेललगायत र एमाले नेता प्रदीप ज्ञवाली लगायतका नेताहरू अस्पताल पुगेर सांसद भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

भण्डारीको निवास बुद्ध नगरमा गए राति ग्यास सिलिन्डर विस्फोट भएको थियो। सांसद भण्डारी र उनकी ८६ वर्षकी आमा हरिकला गम्भीर घाइते छन्। उनीहरूलाई आइसियुमा राखेर उपचार गरिएको छ।

चिकित्सकहरूका अनुसार चन्द्रको शरीरको करिब २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको सांसद भण्डारीको सचिवालयले जानकारी दिएको छ।

उनीहरू खाना खाएर सुतिसकेको अवस्थामा ग्यास सिलिन्डर विस्फोट भएको थियो। सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन्। गए राति नै अस्पताल पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माले जानकारी लिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस