‘न पिटिने डाक्टरको गल्ती हो, न निलम्बित प्रहरीको’ « प्रशासन
Logo १६ आश्विन २०८०, मंगलबार
   

‘न पिटिने डाक्टरको गल्ती हो, न निलम्बित प्रहरीको’


२९ माघ २०७९, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीको शुक्रबार भएको सवारीका क्रममा चिकित्सक पिटिएको घटनालाई लिएर अतिविशिष्ट व्यक्ति सुरक्षा सम्बन्धी प्रावधान सच्याउनुपर्ने आवश्यकता देखिएको सांसद डा. तोसिमा कार्कीले बताएकी छन् ।

सम्बन्धित समाचार : विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि परिवर्तन गर्दै सरकार

उनले सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै भनेकी छन्, ‘डाक्टर एक प्रतिबिम्ब पात्र मात्रै हुन्, खासमा ती सुरक्षाकर्मी पनि यही प्रणालीको सिकार बनेका छन् ।’

एक सर्वसाधारण त्यहाँ उभिएको भए पनि लाठी प्रहार हुन्थ्यो भन्दै उनले भनेकी छन्, ‘यसको घटना के कारणले भयो भन्नेतिर खोजी गर्नुपर्छ ।’

उनले चिकित्सकले आइतबार देशभर गरेको हड्तालको पनि विरोध गरेकी छन् । चिकित्सकको बन्दले लाखौँ बिरामी मर्कामा पर्ने भन्दै उनले भनेकी छन्, ‘शुक्रबारको घटनामा गल्ती न ड्युटीमा खटिएका डाक्टरको थियो । न त आदेश अनुरूप लट्ठी चार्जसम्मको निर्देशन पाएको ड्युटीमा खटिएका प्रहरीको थियो ।’

सम्बन्धित समाचार : चिकित्सक र सरकारी टोलीबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित

उनले जनप्रतिनिधिले बनाएको भिभिआइपी सुरक्षा प्रोटोकलको गल्ती भएको बताउँदै अगाडि भनिन्, ‘प्रोटोकलहरू देशमा सुशासन र समृद्धि स्थापित गर्न बनेका हुन् भने यसमा सुधार गर्न जरुरी छ । कुनै पेसाकर्मी र नागरिकलाई बाधा नहुने गरी हुनसक्नेसम्म लचकता अपनाइ हरेक नेपालीले स्वीकार्न सक्ने र पालना गर्न सक्ने नीति निर्माण बनाउन जरुरी छ ।’

शुक्रबार राष्ट्रपतिको सवारीमा सडकमा निस्किएको भन्दै ट्रमा सेन्टरका डाक्टर जनिथलाल सिंह कुटिएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस