नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

नेपाल-भारत ऊर्जा सचिवस्तरीय बैठक बस्दै


२९ माघ २०७९, आइतबार


काठमाडौँ । नेपाल र भारतको ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक यही फेब्रुअरी १७ र १८ (फागुन ५ र ६ गते) बस्ने तय भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार जोइन्ट स्टेयरिङ कमिटीको दशौँ बैठक भारतमा बस्ने तय भएको हो ।

फेब्रुअरी १७ मा दुई देशका सहसचिवस्तरीय संयुक्त कार्यदल (जोइन्ट वर्किङ ग्रुप) र फेब्रुअरी १८ मा जोइन्ट स्टेयरिङ कमिटीको बैठक बस्ने भेटुवालले जानकारी दिए ।

हाल ६ सय मेगावाटसम्म बिजुली निर्यात गर्ने अनुमति पाएको ढल्केबर-मुजफ्फरपुर चार सय केभी अन्तरदेशीय प्रशारणलाइनबाट थप विद्युत् पठाउने विषय पनि यो बैठकमा नेपालले राख्नेछ । त्यस्तै, चार सय केभी नयाँ बुटवल(गोरखपुर, दुहबी-पूर्णिया र लम्की(बरेली अन्तरदेशीय प्रसारणलाइनका बारे पनि छलफल हुनेछ । भारतमा विद्युत् निर्यात गर्न नेपाल विद्युत् प्राधिकरणले पेस गरेका आयोजनालाई स्वीकृति दिने विषयलाई नेपालले भारतसँग आग्रह गर्नेछ ।

दोस्रो अन्तरदेशीय नयाँ बुटवल–गोरखपुर चार सय केभी प्रसारणलाइन निर्माणको प्रगति र भारतीय कम्पनी सतलज जलविद्युत् निगमले नेपालमा बनाइरहेको विद्युत् आयोजनाको प्रगतिबारे पनि छलफल हुने उनको भनाइ छ । नयाँ बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण निर्माणको काम नेपाल विद्युत् प्राधिकरण र भारतीय कम्पनी पावर ग्रीड कर्पोरेसन अफ इण्डिया लिमिटेडको संयुक्त उपक्रममा बनेको कम्पनीबाट अघि बढाउने गरी दुई देशबीच सहमति भइसकेको उनको भनाइ छ ।

गत वर्ष फागुन १२ मा काठमाडौँमा सम्पन्न भएको जोइन्ट स्टेयरिङ कम्पनीको नवौँ बैठकबाट नेपाल र भारतबीच संयुक्त रूपमा ठूला जलविद्युत् आयोजना निर्माण गर्ने सम्बन्धमा दुवै देशबाट तीन-तीनजना सदस्य सम्मिलित संयुक्त प्राविधिक टोली गठन गर्ने निर्णय भएको थियो । उक्त प्राविधिक टोलीको कार्यप्रगतीबारे पनि समीक्षा गरिने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस