नेकपा एस र जसपा पार्टी एकताको अन्तिम चरणमा, सकियो दस्ताबेज अध्ययनको काम « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेकपा एस र जसपा पार्टी एकताको अन्तिम चरणमा, सकियो दस्ताबेज अध्ययनको काम


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टी नेपालले दस्ताबेज अध्ययन गर्ने काम सकेको छ । एकीकृत समाजवादी र जसपाबीच एकीकरणका लागि एक अर्काको दस्ताबेज अध्ययन गर्ने काम भइरहेको थियो । एकीकरण पूर्व एक अर्काको दस्ताबेज अध्ययन गरी पार्टी एकताको प्रक्रिया सुरु गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार दुवै दलले एक अर्काको दस्ताबेज अध्ययन गर्ने कार्य सकेको हो । 

त्यसको प्रतिवेदन बनाउने जिम्मेवारी एकीकृत समाजवादी पार्टीका उपमहासचिव डा.विजय पौडेललाई दिइएको छ । उनले प्रतिवेदन तयार गरेपछि कार्यदलको बैठक बस्ने बताइएको छ । जसपाको तर्फबाट गठन भएको वार्ता समितिका सदस्य गोविन्द चौधरीले दस्ताबेज अध्यक्ष गर्ने कार्य सकिएको बताए ।

दुवै दलबीच एकताका लागि एकीकृत समाजवादीले महासचिव वेदुराम भुसालको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ भने जसपाले पनि वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ । दुवै समितिले तीनवटा बैठक बसेर एकताका लागि विभिन्न एजेण्डा तय गरेका छन् । सोही एजेण्डा अन्तर्गत दस्ताबेज अध्ययन गर्ने जिम्मेवारी जसपाबाट गोविन्द चौधरी र एकीकृत समाजवादीबाट पौडेललाई दिएको थियो । 

नेता पौडेलले दस्ताबेजको अध्ययन गर्ने काम भइरहेको र चाँडै नै प्रतिवेदन बनाएर समितिमा पेस गर्ने बताए । 

दुवै पार्टीले अङ्गालेको विचार, सिद्धान्त, राजनीतिक मुद्दाको विषयमा अध्ययन भएको छ । राज्य पुनः संरचना, शक्तिको बाँडफाँट लगायतका विषयमा पनि अध्ययन भएको छ । शासन प्रणाली कस्तो राख्ने त्यस विषयमा पनि छलफल भएको बताइएको छ । जसपाले नागरिकताको समस्या, संविधान संशोधनलगायतका विषय पनि उठाएको छ ।  एकताको क्रममा उठ्ने जटिल विषय र समान्य विषयलाई लिस्टिङ गर्ने काम भइरहेको उपमहासचिव पौडेलले बताए । जटिल विषयलाई नेतृत्व तहबाट टुङ्ग्याउने काम हुन्छ भने समान्य विषयलाई वार्ता समितिबाट नै टुङ्ग्याउने उनले जानकारी दिए ।   

Tags :
प्रतिक्रिया दिनुहोस