भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या १२ हजार नाघ्यो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेको संख्या १२ हजार नाघ्यो


२६ माघ २०७९, बिहिबार


काठमाडौँ । टर्कीको दक्षिण पूर्वी र छिमेकी सिरियाको उत्तरी क्षेत्रलाई केन्द्र बनाएर सोमबार गएको भूकम्पमा मृत्यु हुनेको संख्या १२ हजार नाघेको छ ।

भूकम्पमा परेर घाइते हुनेहरूको संख्या टर्कीमा मात्रै ४० हजारभन्दा बढी पुगेको बताइएको छ । प्रतिकूल मौसमका कारण खोज तथा उद्धार कार्य प्रभावित बन्दा भग्नावशेषमा फसेकाहरूलाई जीवितै उद्धारको सम्भावना कम हुँदै गएको छ । उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएकाहरूको खोजीमा जुटेका छन् ।

करिब ६ हजार भवन भत्केकाले मृतकको संख्या अझै बढ्न सक्ने उद्धारकर्मीले बताएका छन् । उद्धार तथा राहतको अनुगमन एवं समन्वय गरिरहेका संयुक्त राष्ट्र सङ्घका अधिकारीहरूले २० हजार मानिस हताहत भएको हुन सक्ने अनुमान गरेका छन् ।

अन्तर्राष्ट्रिय समुदायले टर्की र सिरियामा राहत सामग्रीसहित उद्धारकर्मी परिचालन गरेको छ । युरोपेली सङ्घ, रुसी महासङ्घ, इजरायल, चीन, भारत, पाकिस्तान, ग्रिस, जर्मनी, लेबनान, दक्षिण कोरिया, जापान, अस्ट्रेलियाले पनि आफ्नो सामर्थ्यअनुसार आर्थिक तथा भौतिक सहायता उपलब्ध गराएका छन् । नेपालले पनि आवश्यक सामग्रीसहित चिकित्सकको टोली पठाउने तयारी गरेको छ ।

अत्यधिक चिसोका बीच राहत र उद्धारकर्मीहरूले भग्नावशेषमा फसेका मानिसहरूको खोजी तीव्र रूपमा गरिरहेका छन् । यसैबीच भूकम्पपछि सडकमा बस्न बाध्य मानिसलाई चिसो खेप्नुपर्ने चुनौती छ ।

टर्कीका केही सहरहरूमा भग्नावशेषमा फसेका मानिसहरूलाई उद्धार गर्न सर्वसाधारण नागरिकहरूले पनि उद्धारकर्ताहरूलाई सहयोग गरिरहेका छन् । टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले भूकम्पबाट सबैभन्दा बढी प्रभावित १० प्रान्तमा तीन महिनाको आपतकाल घोषणा गरेका छन् ।

भारत, अमेरिका, इजरायललगायत दर्जनौँ देशले टर्की र सिरियामा राहत सामग्री पठाइरहेका छन् भने विज्ञको टोली उद्धार कार्यमा सहयोग गरिरहेका छन् । नेपालले पनि टर्कीमा मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ ।

टर्कीको गाजिएनटेपमा सोमबार बिहान ७.८ म्याग्निच्युडको भूकम्प गएको हो । त्यसको केही मिनेटपछि मध्य टर्कीमा ७.५ म्याग्निच्युडको अर्को भूकम्प गयो ।

Tags :
प्रतिक्रिया दिनुहोस