अब नेपाली आकाशमा पनि जहाजभित्र इन्टरनेट चलाउन पाइने  « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

अब नेपाली आकाशमा पनि जहाजभित्र इन्टरनेट चलाउन पाइने 


२५ माघ २०७९, बुधबार


काठमाडौँ । हवाई यात्राका दौरान नेपाली आकाशमा पनि इन्टरनेट चलाउन पाइने भएको छ । यसका लागि अब वायुसेवा कम्पनीहरूले नेपाल दूरसञ्चार प्राधिकरणले तोकेको सर्त पुरा गरी यस्तो सेवा जडान गर्न सक्नेछन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले इनफ्लाइट कम्युनिकेसन (आईएफसी) सर्भिस सञ्चालनसम्बन्धी निर्देशिका जारी गर्दै यस्तो बाटो खोलेको छ । यसअघि सरकारले यस्तो सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सो निर्णय कार्यान्वयन गर्न प्राधिकरणले निर्देशिका जारी गरेको हो ।

निर्देशिका अनुसार नेपाली आकाशमा १० हजार फिटभन्दा माथिको उचाइमा उडानमा रहेको जहाजमा यस्तो सेवा दिइनेछ । ट्याक्सिङ, उडान वा अवतरणका दौरान र १० हजार फिट भन्दा तलको उचाइमा भने कुनै पनि जहाजमा यस्तो सेवा यात्रुले चलाउन पाउने छैनन् ।

यसअघि नेपालको आकाश हुँदै अन्य मुलुकमा जाने वायुसेवा कम्पनीहरूको उडानका दौरान चलिरहेको वाइफाइ तथा अन्य फ्रिक्वेन्सी सेवाहरू काटिने अवस्था थियो । त्यसमा पनि नेपालको आकाश हुँदै उचाइमा उड्ने विदेशी जहाजहरूमा चलिरहेको सेवा अब नेपाली आकाशमा ‘ओभरफ्लाइङ’ गर्दा समेत सेवा अवरुद्ध हुने छैन ।

प्राधिकरणका अनुसार नेपाली कम्पनीहरूले समेत संसारका धेरै मुलुकमा प्रयोगमा आएको यो सुविधा प्रयोग गर्नेबारे चासो राखेसँगै निर्देशन जारी गरी यसको प्रयोग गर्ने बाटो खुला गरिएको हो ।

इनफ्लाइट कम्युनिकेसन सर्भिस सर्भिस प्रदायक कम्पनीले स्याटलाइट अपरेटरबाट इन्टरनेट नेटवर्क सेटअप गर्छन् । प्राधिकरणका अनुसार इनफ्लाइट टेलिकम्युनिकेसन सर्भिस आन्तरिक तथा बाह्य दुवै कम्पनीहरूले उपलब्ध गराउन सक्ने भएका छन् ।

नेपालमा दर्ता भएका विमानमा आईएफसी सेवा उपलब्ध गराउन चाहने नेपालका वायुसेवा कम्पनीले आफूले कस्तो सेवा प्रदान गर्न चाहेको सो बारे खुलाएर निवेदन दिने सक्ने भएका छन् ।

आईएफसी सेवा प्रदायकबारे जानकारी, एयरलाइन्स र आईएफसी सेवा प्रदायक कम्पनी बीचको समझदारी, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सिफारिस पत्र, अन्य आवश्यक कागजात नेपाल दूरसञ्चार प्राधिकरणमा बुझाएसँगै वायुसेवा कम्पनीले यो सेवा सञ्चालनको अनुमति पाउने छन् ।

त्यसका लागि ‘नो अब्जेक्सन प्रमाणपत्र (एनओसी)’ नेपाली वायुसेवा कम्पनीका लागि जारी गर्न सक्छ । एनओसी र अनुमति पत्र जारी गरी सञ्चार मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराउने भएको छ ।

विदेशी वायुसेवा कम्पनीले यस्तो सेवा लिन चाहेमा नागरिक उड्डयन प्राधिकरणबाट सिफारिस लिई दूरसञ्चार प्राधिकरणमा अनुमति लिन निवेदन दिनुपर्छ ।

यस्तो सेवा विमान ग्राउन्डमा रहेका बेला, अवतरणको बेला र जमिनबाट १० हजार फिट भित्र रहेको अवस्थामा प्रयोग गर्न पाइने छैन । यस्तो सेवाले दूरसञ्चार सेवा प्रदायको फ्रिक्वेन्सीलाई प्रभावित गर्न पाउने छैन ।

Tags :
प्रतिक्रिया दिनुहोस