संसदीय समितिले बजेट निर्माण प्रक्रियाको सिसिटिभी फुटेज हेर्ने प्रस्ताव « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

संसदीय समितिले बजेट निर्माण प्रक्रियाको सिसिटिभी फुटेज हेर्ने प्रस्ताव


२३ माघ २०७९, सोमबार


काठमाडौँ । सांसदहरूले बजेट निर्माण प्रक्रियाको सिसिटिभी संसदीय समितिले हेर्नुपर्ने प्रस्ताव गरेका छन् ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिमा सोमबार सांसदहरूले राजस्वले व्यय गर्न नपुग्ने, सार्वजनिक ऋण तथा व्यापार घाटा बढ्दै जाने, मन्त्रीले योजना मनपरी बाँड्ने, सांसदलाई मन्त्रालयमा बोलाउने प्रवृत्ति अन्त्य गर्न बजेट निर्माण प्रक्रियाको सम्पूर्ण सिसिटिभी फुटेज कुनै समितिले हेर्ने गरी तोक्न प्रस्ताव गरेका हुन् ।

बजेट निर्माण प्रक्रिया अपारदर्शी हुँदा व्यापार घाटा र सार्वजनिक ऋणदेखि महँगीसम्म बढेको तथा हरेक सरकारले अघिल्लो सरकारले नै गरेको भनेर पन्छिने गरेको भन्दै मस्यौदा समिति सदस्य प्रेम सुवालले प्रतिनिधिसभा नियमावलीमै सिसिटिभी फुटेज हेर्नुपर्ने बताए । 

अघिल्लो बजेटमा बिचौलिया प्रवेश हुँदा फुटेज नै डिलिट गरिएको प्रसङ्ग उल्लेख गर्दै सुवालले बजेट तयार भइसकेपछि समितिले सिसिटिभी हेर्नुपर्ने गरी यो कुरा नियमावलीमै लेख्नुपर्ने माग गरे ।

देशभर समान वितरणको निर्देशन दिनुपर्ने सभामुखले समेत आफ्नो जिल्लामा यति बजेट हालिदिनु पर्‍यो भनेर मन्त्रीलाई भन्ने गरेको भन्दै सुवालले सिसिटिभी हेर्ने र मन्त्रीले संसदमै टिपोट गरेर बजेट वितरणको व्यवस्था गर्न माग गरे ।

सिसिटिभी फुटेज हेर्ने प्रस्तावमा मङ्गलवार पनि छलफल हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस