नेपालको स्वास्थ्य अवस्था कहाली लाग्दो : स्वास्थ्य मन्त्री गिरी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालको स्वास्थ्य अवस्था कहाली लाग्दो : स्वास्थ्य मन्त्री गिरी


२३ माघ २०७९, सोमबार


झापा । स्वास्थ्य मन्त्री पदम गिरीले नेपालको स्वास्थ्य अवस्था कहालीलाग्दो भएको बताएका छन्।

झापाको कनकाई नगरपालिकामा आइतबार एक सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री गिरीले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा नागरिकले अनुभूत गर्ने गरिएको सुधार नगरे अहिलेको राज्य व्यवस्थामाथि नै खतरा उत्पन्न हुने बताए।

नागरिकले आफ्नो स्वास्थ्य उपचार गर्नुपर्दा धेरै पैसा खर्च खेप्नुपरिरहेको अवस्थालाई सुधार नगरे जनतामा वितृष्णा बढ्ने उनले बताए।

उनले भने, ‘तपाईँहरूले मिडियामा आएका समाचार पढिरहनु भएकै छ। दुर्गम गाउँहरूमा त बिरामी बोक्नका लागि स्ट्रेचर पनि छैन । सुत्केरीको अकालमा ज्यान गइरहेकै छ। यी ठुला समस्याबाट जनतालाई मुक्ति दिलाउनु छ।’

मन्त्रालयले अहिले स्वास्थ्य बिमा कार्यक्रमलाई कसरी जनतामाझ सर्वसुलभ बनाउने भन्ने बारेमा गृहकार्य गरिरहेको मन्त्री गिरीले जानकारी दिए।

उनले भने, ‘स्वास्थ्य बिमा कार्यक्रम सबै जनतामा पुग्नुपर्छ। बिमा कार्यक्रम जनताको घरदैलोमा कसरी पुर्‍याउन सकिन्छ भन्ने बारेमा हामी गरिरहेका छौँ।’

आफ्नो कार्यकालमा स्वास्थ्य बिमा कार्यक्रम सबै जनताको पहुँचमा पुर्‍याउने र सातै प्रदेशका प्रादेशिक अस्पतालहरूको क्षमता विस्तार गरिने मन्त्री गिरीले बताए।

मन्त्री गिरीले भने, ‘सात प्रदेशका कम्तीमा सात वटा अस्पताललाई गुणस्तरीय उपचार सेवा दिने अस्पतालका रूपमा विकास गर्न काम भइरहेको छ।’

Tags :
प्रतिक्रिया दिनुहोस