आत्मदाह गरेका आचार्यको श्रीमतीको बैङ्क खाता विवरण सार्वजनिक भएकामा आपत्ति « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

आत्मदाह गरेका आचार्यको श्रीमतीको बैङ्क खाता विवरण सार्वजनिक भएकामा आपत्ति


१९ माघ २०७९, बिहिबार


काठमाडौँ । आत्मदाह गरेका प्रेमप्रसाद आर्चायकी श्रीमती नानुका अधिकारीले आफ्नो बैङ्क खाताको विवरण सार्वजनिक भएको भन्दै आपत्ति जनाएकी छन् ।

बैङ्क खाताको विवरण सहित खातामा जम्मा भएको रकमबारे सामाजिक सञ्जालमा दुष्प्रचार हुँदा आफूलाई मानसिक तनाव भएको उनले बताइन् । बैङ्क खाताको स्क्रिन सट सामाजिक सञ्जालमा फैलिनुका साथै विभिन्न ठाउँबाट मानसिक यातना दिने काम भइरहेको उनको भनाइ छ ।

गृह जिल्ला इलाममा श्रीमान्को दाहसंस्कारको कर्ममा खटिएकी अधिकारीले खातामा जम्मा भएको रकमबारे आफू जानकार नभएको बताइन् । ‘मेरो श्रीमान्ले मलाई पैसा आवोस भन्नकै लागि त्यो कदम चाल्नुभएको होइन । अहिले उहाँको नौ दिनको दाहसंस्कार कर्ममा छु, तर सामाजिक सञ्जालमा मानसिक तनाव दिने म्यासेज र पोस्ट आइरहेका छन्, यसले मलाई अझ विक्षिप्त बनाएको छ’, उनले भनिन् ।

उनले भनिन्, ‘मेरो खातामा पैसा हाल्न मैले कसैलाई व्यक्तिगत रूपमा आग्रह गरेको छैन । सहयोगी मनबाट सहयोग स्वरूप रकम जम्मा भएको होला, तर मलाई जथाभाबी भाइरल बनाउने र दुष्प्रचार गर्ने काम भएको छ ।’

उनले आफ्नो गोपनीयता भङ्ग गर्ने बैङ्क र कर्मचारीलाई काठमाडौँमा रहेका आफन्तको सहयोगमा उजुरी गर्ने बताइन् ।

सामाजिक सञ्जालमा नानुका अधिकारीको बानेश्वर शाखाको ग्लोबल आइएमइ बैङ्कको खाता नम्बर र त्यसमा जम्मा भएको रकमको स्क्रिन सटहरू पोस्ट भइरहेको छ ।

अधिकारीले बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएको विषयमा जानकार भएको बताइन् । ‘हिजो ९बुधबार० सांसदहरूले उठाउनु भएको विषयमा थोरै जानकार छु । सांसद मोहन बस्नेतले काठमाडौँमा केही समयअघि रोजगारी र नानीहरूको शिक्षामा सहयोग गर्ने आश्वासन दिनुभएको थियो’, उनले भनिन् । सांसद बस्नेतको आश्वासनप्रति आफू सकारात्मक रहेको उनको भनाइ छ ।

इलाम जिल्ला प्रशासन कार्यालय प्रमुखबाट पनि आश्वासन पाएको उनले बताइन् । उनका अनुसार केही दिनअघि प्रमुख जिल्ला अधिकारी गृह मन्त्रालयको प्रतिनिधिको रूपमा आएर आफ्नो मागप्रति सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए ।

अधिकारीले प्रमुख जिल्ला अधिकारीसँग त्यही बेला बैङ्क खातामा जम्मा भएको रकमबारे सूचना बाहिर गइरहेको जानकारी गराएकी थिइन् । सरकारबाट सहयोग गर्ने आश्वासन पाएपछि आफू सकारात्मक भएको उनको भनाइ छ ।

श्रीमान् प्रेमप्रसाद आर्चायको माग पूरा गराउन दाहसंस्कारको काम सकिने बित्तिकै काठमाडौँ आउने बताइन् । उनले भनिन्, ‘उहाँलाई यस्तो निर्णय लिन बाध्य बनाउने सबैलाई कानुनको दायरामा ल्याउन प्रहरीमा उजुरी दिएकी छु । उहाँलाई शहीद घोषणा गर्न माग पनि गरेकी छु ।’

Tags :
प्रतिक्रिया दिनुहोस