भोजपुरमा सुन्तला उत्पादनमा वृद्धि « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

भोजपुरमा सुन्तला उत्पादनमा वृद्धि


१७ माघ २०७९, मंगलबार


भोजपुर । भोजपुरमा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यहाँ आठ सय ५३ मेट्रिक टन बढी सुन्तला उत्पादन वृद्धि भएको हो । यस वर्ष छ हजार दुई सय ९३ मेट्रिक टन सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ । गत वर्ष पाँच हजार चार सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

जिल्लाको सबै स्थानीय तहमा सुन्तला उत्पादन हुने भए पनि विशेष गरेर टेम्केमैयुङ गाउँपालिका, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकामा सुन्तला बढी उत्पादन हुने गर्दछ ।

अन्य बालीका तुलनामा सुन्तला खेतीबाट राम्रो आम्दानी हुने तथा घरैबाट बिक्री हुने भएकाले यसतर्फ कृषकको आकर्षण बढेको कृषि ज्ञान केन्द्र भोजपुरका सूचना अधिकारी विश्वास अङगाईँले बताए । ‘यस वर्ष भोजपुरमा सुन्तला उत्पादनमा वृद्धि भएको छ’, उनले भने, ‘मौसम अनुकूल भएकाले सुन्तला राम्रो फलेको देखिन्छ । हामीले पनि किसानलाई प्राविधिक सहयोग गरिरहेका छौँ ।’

उत्पादन भएको सुन्तला प्रतिकेजी रु एक सयदेखि रु एक सय २० मा बिक्री हुँदै आएको छ । जिल्लाभर ९ सय २० हेक्टर क्षेत्रफलमा सुन्तला खेती भएको केन्द्रले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस