गृहमन्त्रीबारे प्रधानमन्त्री आफैँले निर्णय गर्नुहुन्छ : कृष्णबहादुर महरा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्रीबारे प्रधानमन्त्री आफैँले निर्णय गर्नुहुन्छ : कृष्णबहादुर महरा


१६ माघ २०७९, सोमबार


काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले गृहमन्त्रीबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैँले निर्णय गर्ने बताएका छन्।

सोमबार बसेको माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँगको प्रतिक्रियामा प्रवक्ता महराले यस्तो बताएका हुन्।

‘गृहमन्त्रीबारे कुनै कुरा नै भएन। यसबारे प्रधानमन्त्री आफैँले निर्णय गर्नुहुन्छ। यो सरकारको विषय हो’, महराले भने।

नागरिकता विवादमा १३ माघमा सर्वोच्च अदालतको फैसलापछि रवि लामिछानेले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो भागमा परेको गृह मन्त्रालयको दाबी यथावतै राखेको छ। हाल रिक्त उक्त मन्त्रालय प्रधानमन्त्री प्रचण्डले सम्हालेका छन्।

आफूलाई गृहमन्त्रीको पद दिन लामिछानेले प्रधानमन्त्री दाहालसँग हिजो (आइतबार) अनुरोध गरेका थिए।

स्थायी समिति बैठकमा नेताहरूको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो। त्यसमा सहमति जुटाउन आज पदाधिकारी बैठक बोलाइएको थियो।

प्रवक्ता महराले गृहमन्त्रीको बारेमा छलफल नै नभएको जिकिर गरे। उनले पर्सि बस्न लागेको स्थायी समिति बैठकको एजेन्डामाथि छलफल भएको बताए।

माओ‌वादीको स्थायी समिति बैठक माघ १८ गते बस्दै छ।

Tags :
प्रतिक्रिया दिनुहोस