विज्ञहरूको निष्कर्ष-आईकाओको मापदण्ड पूर्ण पालना नहुँदा हवाई दुर्घटना बढ्यो  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

विज्ञहरूको निष्कर्ष-आईकाओको मापदण्ड पूर्ण पालना नहुँदा हवाई दुर्घटना बढ्यो 


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । विज्ञहरूले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ)ले निर्दिष्ट गरेका मापदण्डहरूको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा वृद्धि भएको औँल्याएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतम, तत्कालीन हवाई विभागका महानिर्देशक वीरेन्द्रबहादुर देउजा, नेपाल एयरलाइन्सका पूर्व इन्जिनियर डाइरेक्टर अच्युतराज पहाडीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन दक्ष जनशक्तिको अभाव रहेको उल्लेख गर्दै त्यसको तत्काल परिपूर्ति गर्नुपर्नेमा पनि जोड दिए । 

संघीय संसद राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरवारमा बसेको बैठकमा बोल्दै नेपाल एयरलाइन्सका पूर्व इन्जिनियर डाइरेक्टर पहाडीले आईकाओले निर्दिष्ट गरेका मापदण्डहरूको पूर्ण पालना गर्न सके नेपालको हवाई सेवा सुरक्षित हुने र दुर्घटना आफैँ न्यूनीकरण हुँदै जाने बताए । 

उनले दक्ष जनशक्तिको व्यवस्थापनमा पनि नेपाल हवाई सेवा प्रदायक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने बताए ।  

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक गौतमले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायहरूको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताए । उनले हवाई सेवा सुरक्षाका लागि संरचनागत सुधारका कामहरूमा पनि ध्यान दिन सरकारको गम्भीर ध्यानाकर्षण गराए । 

नेपालको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सेवा प्रदायक संस्थाहरूलाई व्यावसायिक ढङ्गले अघि बढाउनुपर्ने आवश्यकता रहेको तत्कालीन हवाई विभागका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजाले बताएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस