जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ४४ जनाको शव आफन्तले बुझे « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

जहाज दुर्घटनामा मृत्यु भएकामध्ये ४४ जनाको शव आफन्तले बुझे


५ माघ २०७९, बिहिबार


काठमाडौँ । पोखरामा भएको यती एयरलाइन्सको नाइन एन-एएनसी-एटीआर-७२-५०० विमान दुर्घटनामा परेकामध्ये ४४ जनाको शव उनीहरूका परिवारजनलाई बुझाइएको छ।

पोखरामा परीक्षण गरिएका सबै २२ शव र काठमाडौंमा ल्याइएका ४९ मध्ये २२ वटा शव आफन्तले बुझेका छन्।

दुर्घटनामा परेका एक जनाको स्थिति अझै अज्ञात छ। यसअघि ४९ शव पोखराबाट काठमाडौँस्थित शिक्षण अस्पताल ल्याइएको थियो।

पहिचान र सनाखत हुन नसकेका, विदेशी नागरिक र चालक दलका सदस्यको शव काठमाडौँमा परीक्षणका लागि ल्याइएको थियो।

शव क्षतविक्षत भएका कारण पहिचानका लागि डिएनए परीक्षण गर्नुपर्ने भएकाले अन्य यात्रुका आफन्तले शव पाउन अझै केही दिन लाग्ने देखिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले दुर्घटनामा बेपत्ता एक व्यक्तिको खोजीकार्य भइरहेको बताए। बुधबार पनि दिनभर गोताखोर र ड्रोन प्रयोग गरेर शवको खोजी गरिएको थियो। आज पनि बिहानै देखि हराइरहेका यात्रुको खोजी जारी रहेको बताए।

६८ यात्रुसहित चार चालक दलका सदस्य लिएर आइतबार काठमाडौँबाट पोखराका लागि उडेको जहाज सेती खोँचमा खसेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस