आजदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक गरिने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

आजदेखि मतदाता नामावली दर्ता तथा अद्यावधिक गरिने


३ माघ २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले आजदेखि मतदाता नामावली सकंलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ।

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि आयोगले मतदाता नामावली सकंलन र अद्यावधिको काम बन्द गरेको थियो।

गत साउन १९ गतेदेखि मतदाता नामावली सकंलन र अद्यावधिकको काम स्थगित भएको थियो। सोमबारबाट सुरु गर्ने तयारी भएपनि पोखरामा भएको विमान दुर्घटना भएको सार्वजनिक बिदा दिएकाले आजदेखि ७७ वटै निर्वाचन कार्यालयबाट मतदाता नामावली प्रि(इनरोलमेन्ट प्रणाली (अनलाइन) बाट सुरु गर्ने गरी तयारी गरिएको आयोगले जनाएको छ।

बाहिरी जिल्ला मतदाता नामावली सकंलन गर्न, आफ्नो मतदाता नामावलीको विवरणमा रहेको त्रुटि सच्याउन चाहेमा आवश्यक प्रमाणसहित प्रि(इनरोलमेन्ट प्रणाली (अनलाइन) आवेदन गर्न सकिने आयोगका सहसचिव तुलसीबहादुर श्रेष्ठले जानकारी दिए। यसअघि बायोमेट्रिक भोटर्स रजिस्ट्रेसन सिस्टम (बीभीआईआर) मार्फत नामावली दर्ता हुँदै आएकोमा प्रणालीलाई स्तरोन्नति गरेर मोबाइलबाटै आफ्नो विवरण राख्न मिल्ने गरी प्रारम्भिक दर्ता सुरु हुन लागेको हो । प्रारम्भिक दर्ता भएपछि आयोगले पालो आउने दिनसहितको विवरण मोबाइलमा पठाउनेछ । त्यसपछि नामावली दर्ता गराउने व्यक्तिले बायोमेट्रिकका लागि सम्बन्धित निर्वाचन कार्यालयमा पुग्नुपर्ने आयोगले जनाएको छ ।

विवाह वा बसाइँ सरेका कारण नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा विवाह दर्ता प्रमाणपत्र वा बसाइँसराइँ दर्ता प्रमाणपत्रका आधारमा अनलाइन प्रणालीमार्फत सम्बन्धित निर्वाचन कार्यालयमा आवेदन दिन सकिने आयोगले जनाएको छ।

मतदाता नामावली ऐन, २०७३ बमोजिम कुनै व्यक्तिले मतदाता नामावलीमा दोहोरो नाम दर्ता नगराउनु हुन तथा कानुनबमोजिम मतदाता हुन योग्य भएका सम्पूर्ण नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ताका लागि अनलाइनमार्फत आवेदन दिन आयोगले आग्रह गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस