सांसदले आफन्तलाई निजी सचिवमा राख्न नपाउने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सांसदले आफन्तलाई निजी सचिवमा राख्न नपाउने


१ माघ २०७९, आइतबार


काठमाडौँ । जनमत पार्टीले आफ्ना सांसदलाई प्रतिनिधिसभामा कुनै भनाइ राख्नु अघि पार्टीको सचिवालयमा जानकारी गराउनुपर्ने नीति लागू गरेको छ । कुनै कागजातमा हस्ताक्षर गर्नु अघि केन्द्रीय सचिवालयलाई जानकारी गराएर मात्र हस्ताक्षर गर्न पनि जनमत पार्टीले आफ्ना सांसदलाई सर्कुलर गरेको छ ।

प्रतिनिधिसभा, प्रदेशसभा तथा पार्टीका सदस्यहरूका लागि जनमत पार्टीले तयार पारेको आचारसंहितामा यी कुरा उल्लेख छन् । जनमत पार्टीका उपाध्यक्ष एवं अनुशासन विभागका प्रमुख दीपक कुमार साहले सो आचारसंहिताको मस्यौदा तयार गरी पार्टीलाई बुझाएका छन् । आचारसंहितामा सांसदले आफन्तलाई निजी सचिवमा राख्न नपाउने पनि उल्लेख छ ।

आचारसंहिताको बारेमा कार्यकारिणी समितिमा छलफलपछि मात्र कार्यान्वयनमा आउने उपाध्यक्ष साहले बताए । कुनै पनि कार्यक्रममा प्रमुख अतिथि भनेर बोलाए मात्र सो कार्यक्रममा जाने र कार्यक्रममा जानुभन्दा पहिले पार्टीको सचिवालयलाई जानकारी गराएर मात्र जाने गरी जनमतले आचारसंहिता बनाएको छ ।

जनतासँग सधैँ सम्मानका साथ व्यवहार गर्ने, जनताका सेवक बनेर सेवाको लागि सदैव तयार रहने उल्लेख गर्दै जनमत पार्टीले सांसदहरुलाई जनताका घरदैलोमा नियमित जान निर्देशन दिएको छ । जनताका समस्याबारे छलफल गर्ने, स्थानीय स्तरमा समाधान गर्ने, समाधान नहुन सकेका समस्याबारे प्रतिनिधिसभा, प्रदेशसभामा प्रस्तुत गरी समाधान गर्न पहल गर्ने आचारसंहितामा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस