ओलीवादले कम्युनिस्ट आन्दोलन अप्ठ्यारोमा पर्‍यो : घनश्याम भुसाल « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

ओलीवादले कम्युनिस्ट आन्दोलन अप्ठ्यारोमा पर्‍यो : घनश्याम भुसाल


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका नेता घनश्याम भुसालले ओलीवाद हाबी भएका कारण मुलुकको कम्युनिस्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको दाबी गरेका छन्।

शुक्रबार काठमाडौँमा एक कार्यक्रमबीच एकीकृत समाजवादी प्रवेश गरेका उनले ज्ञान, विज्ञान, तर्क र प्रमाणमाथि ओलीवाद हाबी भएपछि कम्युनिस्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गएको बताएका हुन्।

उनले भने, ‘ओलीवाद, ओली विचार, ओली सिद्धान्त, ओली सङ्गठन कस्तो हुन्छ भन्दा सौराह काण्डमा जे गरियो, त्यस्तै सङ्गठन हुन्छ। सिद्धान्त के हो भन्दा राज्य र पार्टी सबै मेरा चाकर हुन्। यो उहाँको सिद्धान्त रह्यो। विचार के हो भन्दा सर्वत्र म। बस् यो विचार हो। यो सिद्धान्त हो, सङ्गठन हो। यो ज्ञानमाथि, विज्ञानमाथि, तर्कमाथि, प्रमाणमाथि ओलीवाद हाबी भएका कारणले आज कम्युनिस्ट आन्दोलन अप्ठ्यारोमा पर्दै गयो।’

नेता भुसालले आफू अहिले पनि नेकपाकै सदस्य भएको र यसको वैभवलाई एक ठाउँमा ल्याउने काम नेकपा (एकीकृत समाजवादी)ले मात्रै गर्न सक्ने भएकाले सो पार्टीमा प्रवेश गरेको तर्कसमेत गरे। उनले जनताको बहुदलीय जनवादबारे एक लाइन पनि लेख्न सक्ने क्षमता एमालेका नेताहरूसँग नरहेको जिकिरसमेत गरे।

‘अहिले जुन जनताको बहुदलीय जनवाद भनिरहेको छ, त्यो मदन भण्डारीको नामको जनताको बहुदलीय जनवादको नाममा हिजोको व्याज लगाएर खुद खाने बाटो मात्रै हो। त्यो जनताको बहुदलीय जनवाद भनेको म दावाका साथ भन्छु-कसैले एकपेज राम्रो सिद्धान्त र इतिहासको प्रकाशमा जनताको बहुदलीय जनवादको कसैले एकलाइन लेखेको छैन। त्यो पल्टन जनताको बहुदलीय जनवादी हुँ भनेर हिँड्छ,’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस