बागमती प्रदेशको सभामुख छान्न आज मतदान हुने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बागमती प्रदेशको सभामुख छान्न आज मतदान हुने


२९ पुस २०७९, शुक्रबार


काठमाडौँ । बागमती प्रदेशको सभामुख पदका लागि आज निर्वाचन हुँदैछ । सभामुखका लागि आज बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा निर्वाचन प्रक्रिया सुरु गरिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

सभामुख पदका लागि आज ११ बजे बस्ने प्रदेशसभाको बैठकमा निर्वाचनको प्रक्रिया सुरु हुने र उक्त बैठकमा मत विभाजन हुने प्रदेशसभा सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।

‘सभामुखको लागि बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा निर्वाचनको प्रक्रिया सुरु हुनेछ । उक्त बैठकमा सभामुख पदका लागि उम्मेदवारी दिएकाहरुबीच मत विभाजन हुने कार्यसूची रहेको छ ।’ उनले भने । प्रदेशसभाका बहुमत सांसदहरूको हस्ताक्षरसहित समर्थन पाउने उम्मेदवार सभामुखमा निर्वाचित हुने जनाइएको छ ।

सभामुख पदका लागि ३ जनाको उम्मेदवारी परेको छ । सभामुख पदका लागि सत्ता गठबन्धनबाट राप्रपाका भुवन कुमार पाठक, नेपाली कांग्रेसबाट शिवराज अधिकारी र नेमकिपाकी सिर्जना सयजुले मनोनयन दर्ता गरेका छन् ।

सभामुखका लागि प्रदेशसभा सचिवालयले बिहीबार बिहान १०:३० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको थियो ।

बागमती प्रदेशसभाको सभामुखका सत्ता गठबन्धनका ५ वटा दलको समर्थनमा राप्रपाका पाठक उम्मेदवार बनेका हुन् । राप्रपाका पाठकलाई एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको समर्थन छ ।

सत्ता गठबन्धनका ५ वटै दलले आफ्ना सांसदहरूलाई अनिवार्य उपस्थित भएर पाठकको पक्षमा मत दिन ह्विप जारी गरेका छन् । ११० सदस्यीय बागमती प्रदेशसभामा राप्रपाका १३ जना सांसद छन् भने पाठकलाई सत्ता गठबन्धनबाट एमालेका २७, माओवादी केन्द्रका २१, एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जना सांसद गरी ७० जनाको समर्थन हुने देखिन्छ ।

बागमती प्रदेशसभामा कांग्रेसका ३७ जना सांसद छन् । कांग्रेसका अधिकारीको पक्षमा ३७ जना सांसद हुने देखिएको छ । यता नेमकिपाकी सयजुको पक्षमा ३ जना सांसद छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस