गृहमन्त्रीको निर्देशन-आदेश होइन कानुनको पालना गर्नु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गृहमन्त्रीको निर्देशन-आदेश होइन कानुनको पालना गर्नु


२८ पुस २०७९, बिहिबार


चितवन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन
दिएका छन् ।

आज भरतपुर विमानस्थलको पार्किङ स्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जानकारी दिए ।

‘सबै प्रमुख जिल्ला अधिकारीहरूलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु’, उनले भने, ‘कानुनको पालना गर्न र गल्ती काम नगर्न सचेत गराएको छु ।’ उनले जे सही हो त्यही मात्र काम गर्न र आदेश होइन कानुन पालना गर्नुहोस् भनी सुरक्षा संयन्त्रलाई निर्देशन दिएको जानकारी दिए ।

उनले कुनै पनि राजनीतिक दलको दबाबमा नपरी काम गर्नु समेत निर्देशन दिएको स्पष्ट पारे । ‘अपराध अनुसन्धानमा राजनीतिक दलले बाधा पुर्‍याउने वा मेरो मान्छे छोडिदेउ जस्ता कुरा नसुन्नुहोस्, त्यसरी दबाब दिएको प्रमाण ल्याएमा त्यस्ता मानिसलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएको छु’, उनले भने ।

उनले आफू सभापति रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको हकमा झन् बढी निर्मम भएर काम गर्न निर्देशन दिएको उनको भनाइ छ । नेपाल प्रहरीलाई बलियो बनाउन र प्रहरी सङ्गठनभित्र देखिएका समस्या समाधान गर्दै विधिको शासन कायम गर्नका निमित्त काम आफूले गरिरहेको बताए । यसका लागि योजना बनाइरहेको उनले जानकारी दिए ।

उनले सरकारले छिट्टै पूर्णता पाउने भन्दै आफ्नो पार्टीले विज्ञताका आधारमा सरकारमा सहभागी हुने स्पष्ट पारे । सबै निकायसँग समन्वय गरेर मुलुकको विकासका काम गरिने उनको भनाइ छ ।

देशभर बन्द भएका अवैध क्रसर उद्योग सञ्चालनका विषयमा सचिव स्तरीय छलफल भइरहेको भन्दै उनले कानुनको पालना गर्ने विषयमा आफू कटिबद्ध रहेको स्पष्ट पारे ।

Tags :
प्रतिक्रिया दिनुहोस