अदानचुलीमा दुई निमित्त प्रमुख प्रशासकीय अधिकृत, हाकिमबारे कर्मचारी नै बेखबर ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अदानचुलीमा दुई निमित्त प्रमुख प्रशासकीय अधिकृत, हाकिमबारे कर्मचारी नै बेखबर !


२७ पुस २०७९, बुधबार


काठमाडौँ । गाउँपालिकामा कर्मचारीमा मात्रै भागबण्डा भएका छैन । जनप्रतिनिधिले आफू निकटका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत पनि तोक्ने गरेको पाइएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत तोक्नेबारेमा जनप्रतिनिधिका आ-आफ्नै तर्क छन् । 

राजनीति दाहिना हुँदा कर्मचारीलाई कार्यालय नै नगई तलब थाप्ने व्यवस्था पनि मिलेको छ । यस्तै सुविधा पाउनेमा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत र लेखापाल रहेका छन् । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्त बहादुर थापाले कार्यालयमा उपस्थित नै नभई पाँच महिनाको तलब बुझेका छन् । सुर्खेतमा बस्दै आएका उनीहरूले गाउँपालिकाको कार्यालयमा हाजिर नै नगरी पाँच महिनाको तलब भत्ता बुझेका हुन् । 

शाही र थापा गत भदौयता पाँच महिनाको अवधिमा यही पुस २० गते एक दिन मात्र कार्यालयमा उपस्थित भएको गाउँपालिकाका उपाध्यक्ष कर्ण रोकायाले जानकारी दिए । तर, गाउँपालिकाका जनप्रतिनिधिले उनीहरूलाई हाजिर गर्न भने दिएनन् । लामो समयसम्म कार्यालय नआएको र अख्तियारमा मुद्दा परेकाले हाजिरी गर्न नदिएको उपाध्यक्ष रोकायाले जानकारी दिए । ‘उहाँले रकम हिनामिना गर्नु भएको छ । कार्यालयमा अनुपस्थित रहेको र अनियमितता गरेको बारेमा मंसिरमा अख्तियारमा उजुरी दिएका छौँ,’ उनले भने, ‘उजुरी परेकोले उहाँले कार्यालयमा काम गर्न पाउनु हुन्न । नागरिकले उहाँकै कारण साह्रै सास्ती बेहोर्नु परेको छ ।’

पाँच महिना कार्यालयमा नआई तलब खाएको भन्ने कुरा सरासर भ्रमको भएको गाउँपालिकाका अध्यक्ष मोहन विक्रम सिंहको जिकिर छ । ‘उहाँ (निमित्त प्रमुख प्रशासकीय अधिकृत) पहिला यतै हुनु हुन्थ्यो । बीचमा एक महिनाका लागि तल (सुर्खेत) तिर जानु भयो ।  छोरोको मृत्यु भएपछि एकदुई महिना उतै बस्नु भयो,’ उनले भने, ‘यी उहाँमाथि राजनीतिक प्रतिशोधको आधारमा लगाइएका आरोपहरू हुन् । उपाध्यक्ष ज्यूले हाजिरी गर्ने फाइल लगिदिनु भयो । हाजिर गर्ने ठाउँ नै भएन । उपाध्यक्षले हाजिरी फाइल लुकाउनु त भएन नि ।’

गत साउन महिनामा तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत टङ्कदत्त प्याकुरेलमाथि भ्रष्टाचार अभियोग लागेपछि गाउँपालिका अध्यक्ष सिंहले आफू निकट शाहीलाई साउन २ गते निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिलाएका थिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट अख्तियारी सहितको पत्र ल्याएका शाहीलाई अध्यक्षको पनि सहमति थियो । तर, शाहीले सुर्खेतबाटै कार्यालय चलाउन थालेपछि गाउँपालिकाका उपाध्यक्ष रोकायको अध्यक्षता बसेको कार्यपालिका बैठकले गाउँपालिकाको कामकाजमा बाधा परेको भन्दै स्वास्थ्य संयोजक हंस महतारालाई निमित्त प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो । अध्यक्ष, निमित्त प्रशासकीय अधिकृत र लेखापालले सुर्खेतबाटै गाउँपालिका चलाउन थालेपछि कार्यपालिकाले महतारालाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको नेकपा माओवादी केन्द्र अदानचुली गाउँपालिका गाउँ कमिटी इन्चार्ज मान बहादुर थापाले जानकारी दिए । 

गाउँपालिका अध्यक्ष सिंह नेपाली काङ्ग्रेसबाट र उपाध्यक्ष रोकाया माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । मन्त्रालय, अध्यक्ष र कार्यपालिका बिचकै निर्णयमा तालमेल छैन । प्रमुख प्रशासकीय अधिकृत, लेखापाल र इन्जिनियरविरुद्ध अख्तियारमा मुद्दा छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा उपस्थित भए नभएको, कार्यालयको कार्य सम्पादन गरे नगरेको, हाजिर गरे नगरेको बारेमा कार्यालयका कर्मचारी नै बेखबर छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा अनुपस्थित भए नभएको बारे जिज्ञासा राख्दा सूचना तथा संचार अधिकृत सुरेन्द्र फडेराले आफूलाई थाहा नभएको बताए । उनले निमित्त प्रमुख प्रशासकीय अधिकृतको फोन नम्बर पालिकाको वेबसाइटमा राखिएको र त्यही नम्बरमा सम्पर्क गर्नू भनी ठाडो जवाफ फर्काए । जसको कमाण्डमा कार्यालयमा काम गर्नु पर्ने हो र जसलाई दैनिक रिपोर्टिङ गर्नु पर्ने हो उनै हाकिमबारे कर्मचारी नै बेखबर छन् भने त्यो कार्यालयमा सेवाग्राहीले कति सहज रूपमा सेवा प्राप्त गरेका छन् होला सहजै अनुमान लगाउन सकिन्छ । वेबसाइटमा राखिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत शाहीको मोबाइल उठ्दैन ।

सम्बन्धित समाचार : राजनीतिक भागबन्डामा कर्मचारी : काम गर्ने कि दललाई रिझाउने ?

Tags :
प्रतिक्रिया दिनुहोस