प्रधानमन्त्रीसहित चार वटै सुरक्षा निकायका प्रमुख भोलि गोरखा जाँदै  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रधानमन्त्रीसहित चार वटै सुरक्षा निकायका प्रमुख भोलि गोरखा जाँदै 


२६ पुस २०७९, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित चार वटै सुरक्षा निकायका प्रमुख बुधवार गोरखा जाने भएका छन् । प्रधानमन्त्री प्रचण्ड बुधवारदेखि सुरु हुने ११ औँ गोरखा महोत्सवको उद्घाटन गर्न जान लागेका हुन् ।  

यस्तै ३०१ औँ पृथ्वी जयन्तीको अवसरमा सदरमुकामको ठूलो आँगनमा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण तथा ‘राष्ट्र निर्माता सलामी’ शुभारम्भ गर्न नेपाली सेनाका प्रमुख प्रभुराम शर्मा पनि गोरखा जाँदैछन् ।

उनका साथमा सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख एवम् मुख्य अनुसन्धान निर्देशक हुत्तराज थापा पनि सहभागी हुने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताए ।  

प्रधानमन्त्री प्रचण्ड महोत्सव उद्घाटनका लागि उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसहित दिउँसो १२ देखि १ बजेको समयमा हेलिकप्टरमार्फत गोरखा पुग्ने कार्यक्रम छ । सुरक्षा निकायका प्रमुखहरू भने दिउँसो ३ बजे हुने सालिक अनावरण कार्यक्रमका लागि त्यसको झन्डै एक घण्टाअघि गोरखा सदरमुकाम पुग्ने कार्यक्रम रहेको छ। 

Tags :
प्रतिक्रिया दिनुहोस