दक्ष राजदूत नियुक्ति गर्न सरकारलाई सुझाव « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

दक्ष राजदूत नियुक्ति गर्न सरकारलाई सुझाव


२२ पुस २०७९, शुक्रबार


काठमाडौँ । परराष्ट्रविद् मधुरमण आचार्यले आर्थिक कूटनीतिका लागि दक्ष राजदूतको नियुक्तिमा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् । 

आर्थिक कूटनीतिमा मुलुक पछि परिरहँदा पूर्व परराष्ट्र सचिव समेत रहेका उनले मुलुकको आर्थिक कूटनीतिलाई अघि बढाउन सरकारले दक्ष राजदूत नियुक्तिमा ध्यान दिनुपर्ने बताए । राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रवार सिंहदरबारमा बसेको बैठकमा बोल्दै परराष्ट्रविद् आचार्यले आर्थिक र कूटनीति दुवै थाहा नभएकालाई सरकारले राजदूत बनाएर पठाएका कारण मुलुकको आर्थिक कूटनीतिक फलदायी हुन नसकेको पनि स्पष्ट पारे । 

उनले आर्थिक कूटनीति कार्यान्वयनका लागि नीतिगत रूपमा स्पष्ट धारणा तय गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए । मुलुकमा लगानी भित्र्याउनका लागि लगानी बोर्डले कामै गर्न नसकेको समेत परराष्ट्रविद् आचार्यको भनाई थियो ।

उनले मुलुकको आर्थिक विकासका लागि भारत र चीन दुवै मुलुकबाट लगानी भित्र्याउन सरकारले जोड दिनुपर्ने आवश्यकता समेत औँल्याए ।

परराष्ट्रविद् आचार्यले आर्थिक कूटनीतिका लागि निजी क्षेत्रको नेतृत्वदायी भूमिका स्थापित गराउन पनि आवश्यक रहेको बताए । बैठकका विमला राई पौडेललगायतका सांसदहरूले आर्थिक कूटनीतिलाई अघि बढाउन अन्तर्राष्ट्रिय अनुभवबारे परराष्ट्रविद् आचार्यसँग जिज्ञासा राखेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस