कोसी अस्पतालको अवैध संरचनामा महानगरको डोजर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कोसी अस्पतालको अवैध संरचनामा महानगरको डोजर


२१ पुस २०७९, बिहिबार


काठमाडौँ। कोसी अस्पतालको भाडामा लगाएको सटर विराटनगर महानगरपालिकाले डोजर प्रयोग गरेर भत्काएको छ । नक्सा पास नगरी अस्पतालले बनाएको सटर अस्पतालले भाडामा लगाएको थियो । बिहीबार महानगरपालिकाले डोजर प्रयोग गरेर भत्काएको हो ।

अस्पतालको सटरमा चलेका पसलले अस्पताल प्रशासनलाई पछिल्लो समय भाडा तिरेका थिएनन् । अस्पताल विकास समितिले गत भदौ १४ गते नै ती सटर खाली गराउने निर्णय गरेको थियो । अस्पताल प्रशासनले कात्तिक १५ गतेभित्र सटर खाली गर्न सूचना जारी गरेको थियो । तर पसल सञ्चालकहरूले पसल खाली गर्न मानेका थिएनन् ।

नक्सापास नगरी बनेका पुरानो संरचना अस्पताल विकास समितिको आग्रह अनुसार विराटनगर महानगरपालिकाले बिहीबार डोजर प्रयोग गरेर भत्काएको हो । अस्पताल अगाडि रहेका सटरमा पसल सञ्चालन हुँदा अस्पताल अगाडि ट्राफिक जाम पनि बढेको थियो । सटर खाली भएपछि बिरामीलाई आवतजावत गर्न सहज हुने अस्पताल विकास समितिका सदस्य मुकेश बुढाथोकीले जानकारी दिए ।

नक्सा पास गर्नका लागि आग्रह गर्दा अटेर गरेपछि संरचनामा डोजर चलाइएको महानगरपालिकाले जनाएको छ । कोसी अस्पतालले महानगरलाई सटरको बहाल करपनि तिरेको थिएन् । महानगरले दुई पटक बहाल कर तिर्न अस्पताललाई आग्रह गरेपनि अस्पतालले तिरेको थिएन् ।

महानगरले अस्पतालको प्रवेशद्वारमा रहेका रुखको हाँगा पनि काटेको छ। सम्भावित जोखिमलाई ध्यानमा राखेर रुखका हाँगा हटाइएको महानगर प्रहरीका प्रमुख राजन पौडेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस