राजस्व सङ्कलनका लागि कर्मचारीलाई अर्थमन्त्री पौडेलले दिए यस्तो निर्देशन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

राजस्व सङ्कलनका लागि कर्मचारीलाई अर्थमन्त्री पौडेलले दिए यस्तो निर्देशन


१८ पुस २०७९, सोमबार


काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व विभाग र भन्सार विभाग अन्तर्गत कार्यालयका प्रमुखहरूसँग छलफल गरेका छन् । 

छलफलका क्रममा उनले राजस्वको लक्ष्य र सङ्कलनको अन्तर ठूलो रहेकाले प्रशासनमा कार्यरत सबैको साझा प्रतिबद्धता खोजिएको बताए ।

आ–आफ्नो जिम्मेवारी पूरा गर्न निर्देशन दिँदै अर्थमन्त्री पौडेलले दैनिक रूपमा राजस्व सङ्कलनमा उल्लेखनीय सुधार आउनुपर्नेमा जोड दिए। लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सोही बमोजिमको कार्य योजना तयार गरी कार्य सम्पादन गर्न उनले निर्देशन दिए ।

स्थानीय प्रशासन र सुरक्षा निकायसँगको समन्वयमा सीमा नाकाबाट हुने चोरी पैठारी नियन्त्रण गर्न र व्यापार सहजीकरण गर्दै भन्सार जाँचपासलाई वास्तविक र यथार्थपरक बनाउन मन्त्री पौडेलले आग्रह गरे ।

कार्यगत सूचकहरु प्राप्तिमा केन्द्रित हुन, करदातालाई कर तिर्ने सहज वातावरण सिर्जना गरी कर परिपालना बढाउन निर्देशन दिँदै मन्त्री पौडेलले सुशासन, सदाचारिता, नैतिकता, इमान्दारिता र व्यावसायिकतालाई मुलमन्त्र मानी कार्य गर्न आग्रह गरे ।

भर्चुअल माध्यमबाट आयोजना गरिएको कार्यक्रममा अर्थ सचिव, राजस्व सचिव, मन्त्रालयका महाशाखा प्रमुख, विभागीय प्रमुख लगायत उपस्थित थिए । कार्यक्रममा आन्तरिक राजस्व विभाग र भन्सार विभागका महानिर्देशकले तोकिए बमोजिमको राजस्व लक्ष्य हासिल गर्न प्रतिबद्धता जनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस