खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाको विरोधमा आन्दोलन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाको विरोधमा आन्दोलन


१८ पुस २०७९, सोमबार


काठमाडौँ । खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजनाको विरोधमा स्थानीयवासी र संरक्षण अभियन्ताहरू आन्दोलित भएका छन् ।

टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबाबमूलक अभियान चलाइरहेका स्थानीयले आज काठमाडौँ महानगरपालिका कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।

सोमबार खुलामञ्चमा भूमिगत पार्किङ नबनाउन र त्यसलाई खुला पहुँचमा राख्न माग गर्दै स्थानीयहरू महानगरपालिकाको गेटमा धर्ना दिन पुगेका हुन् ।

सम्पदाप्रेमीहरुले नागरिकस्तरबाट ‘अकुपाई टुँडिखेल’ अभियान चलाउँदै आएका छन् । सोही अभियान अन्तर्गत आज बिहान महानगरपालिका कार्यालय अगाडि मानव साङ्लो बनाएर प्रदर्शन गरिएको हो ।

कार्त्तिक २९ गते बसेको महानगरको कार्यपालिका बैठकले खुलामञ्चमा ट्रिपल बेसमेन्ट पार्किङ र पानी पुनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने निर्णय गरेको थियो। अव्यवस्थित पार्किङलाई व्यवस्थापन गर्नका लागि खुलामञ्चमा पार्किङ निर्माण गर्न डीपीआर बनाउने निर्णय गरेको हो।

अकुपाई टुँडिखेल अभियान खबरदारी गर्न महानगरको कार्यालय पुगेको हो। यो अभियानले यसअघि पनि खुलामञ्च मास्न हुँदैन भनेर महानगरको ध्यानाकर्षण गराएको थियो।

तर,पटक-पटक खबरदारी गर्दा पनि महानगरले अटेरी गरेको भन्दै अकुपाई टुँडिखेल दबाब दिन आज महानगर पुगेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस