माघ २ गते सभामुख चयन गर्ने सर्वदलीय बैठकको निर्णय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

माघ २ गते सभामुख चयन गर्ने सर्वदलीय बैठकको निर्णय


१७ पुस २०७९, आइतबार


काठमाडौँ । सुदूरपश्चिममा अगामी माघ २ गते सभामुख चयन गर्ने सहमति भएको छ । आइतबार ज्येष्ठ सदस्य मानबहादुर रावलको अध्यक्षतामा प्रदेशसभा सचिवालयमा बसेको बैठकले माघ २ गते सभामुख चयन गर्ने निर्णय गरेको हो ।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले सोमबार दिउँसो १ बजे बस्ने प्रदेशसभाको पहिलो बैठकमा सभामुख निर्वाचन सम्बन्धी कार्यतालिका प्रस्तुत गर्ने र २ गते निर्वाचन गर्ने सर्वदलीय बैठकले निर्णय गरेको जानकारी दिए ।

उनकाअनुसार सभामुखका लागि एक जनाको उम्मेदवारी परेको बाहेकको अवस्थामा मतदान हुनेछ । सबैभन्दा बढी मत पाउने प्रदेशसभा सदस्य सभामुखमा निर्वाचित हुनेछन् ।

सर्वदलीय बैठकले प्रदेशसभा सञ्चालन सम्बन्धी नियमावलीमा केही संशोधन गर्ने निर्णय गर्दै ज्येष्ठ सदस्यको अध्यक्षतामा ५ सदस्यीय अध्यक्षता मण्डल चयन समेत गरेको छ । पहिलो बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका तर्फबाट संसदीय दलका नेताले शुभकामना मन्तव्य राख्ने कार्य सूची समेत बैठकले तय गरेको छ ।

प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले दलको नेता चयन गरिनसकेका कारण प्रदेशसभा सदस्य बहादुरसिंह थापाले शुभकामना मन्तव्य राख्ने प्रदेशसभा सचिवालयले जनाएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नेपाली काँग्रेस (१९), नेकपा माओवादी केन्द्र (११), नेकपा एमाले (१०), नागरिक उन्मुक्ति पार्टी (७), नेकपा एकीकृत समाजवादी पार्टी (४), राप्रपा (१) गरेर ६ दलको प्रतिनिधित्व रहेको छ । एक जना स्वतन्त्र प्रदेशसभा सदस्य छन् ।

यहाँ काँग्रेस बाहेकका दलले संसदीय दलको नेता चयन गरिसकेका छन् । काँग्रेसले भने नेता चयनका विषयमा आन्तरिक छलफल जारी रहेको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस