जरायो मारेको घटनामा २ सांसद र पूर्व गाउँपालिका अध्यक्षमाथि थालियो अनुसन्धान « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

जरायो मारेको घटनामा २ सांसद र पूर्व गाउँपालिका अध्यक्षमाथि थालियो अनुसन्धान


१६ पुस २०७९, शनिबार


वीरगञ्ज । पर्सा राष्ट्रिय निकुञ्जमा जरायोको सिकार गरेको घटनामा दुई प्रदेश सभा सदस्य र पर्साको एक गाउँपालिकाका पूर्व अध्यक्ष अनुसन्धानमा तानिएका छन् ।

निकुञ्जले बागमती प्रदेशसभा सदस्य श्याम खड्का, मधेस प्रदेशसभा सदस्य प्रमोद जयसवाल र उनका भाइ पर्साको सखुवाप्रसौनी गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाललाई घटनाको अनुसन्धानका लागि बोलाएको हो ।

४ पुसको राति निकुञ्जको सुरक्षामा खटिएको नेपाली सेना र सिकारी टोलीबिच अकुवनियास्थित कोर जङ्गलमा जम्काभेट भएको थियो । सेनाको टोलीलाई देखेपछि भागेका शिकारीको गाडीको चक्कामा गोली हानेर नेपाली सेनाले पाँच जनालाई पक्राउ गरेको थियो । केही व्यक्ति भने फार्म हाउसतर्फ भागेका थिए ।

पछ्याउँदै गएको सेनाको टोलीले फार्म हाउसमा छापा मारेर सिकारमा प्रयोग हुने सामाग्री बरामद गरेको थियो । सेनाले अनुसन्धानका लागि बुझाएपछि निकुञ्जले त्यस दिन सिकारमा संलग्न रहेको आरोपमा पाँच जना, दुई वटा गाडी, सिकार खेल्न प्रयोग हुने सामाग्री, सिकार गरी मारेको जरायोको मृत शरीर र चित्तलको टाउको लगायत सार्वजनिक गरेको थियो ।

निकुञ्जका सूचना अधिकारी सूर्य खड्काले पक्राउ परेका व्यक्तिहरूको बयानका आधारमा अन्य केही व्यक्तिलाई अनुसन्धानमा सहयोग गर्नका लागि बोलाइएको जानकारी दिए ।

संरक्षित वन्यजन्तु मार्ने वा घाइते बनाउनेलाई एक लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।

Tags :
प्रतिक्रिया दिनुहोस