काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थापाथलीस्थित बागमती किनारमा बस्दै आएका सुकुम्वासीहरूलाई हटाउन गृह मन्त्रालयसँग सहयोग मागेको छ।
महानगरले त्यहाँको सुकुम्वासी बस्तीलाई हटाउन अभियानको रूपमा अगाडि बढाउनुपर्ने देखिएको भन्दै सहयोग मागेको हो।
‘अतिक्रमण गरी निर्माण भएका अनधिकृत संरचनाहरू हटाउने कार्य अभियानकै रूपमा अगाडि बढाउनु पर्ने देखिन्छ। जसको लागि तहाँमार्फत् सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायलाई आवश्यक निर्देशन एवं समन्वय हुन अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ।
बागमती सभ्यता एकीकृत विकास परियोजनाको अनुरोधमा त्यहाँको बस्ती हटाउन प्रयास गरिए पनि सफल नभएको महानगरको भनाइ छ।
सो बस्ती हटाएर सौन्दर्यीकरणको काम तत्काल सुरु गर्नुपर्ने भएकाले संरचना हटाउन आवश्यक सहयोग एवं समन्वयका लागि अनुरोध गरेको हो।
