अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अर्थतन्त्रको पुनरुत्थान सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री प्रचण्ड


१२ पुस २०७९, मंगलबार


काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी प्रतिनिधिमण्डलले आज बिहान निजी निवास खुमलटारमा भेटवार्ता गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाले नवनियुक्त प्रधानमन्त्रीलाई सिंगो निजी क्षेत्रका तर्फबाट बधाई एवं शुभकामना दिएका थिए ।

प्रधानमन्त्री आफै पनि मुलुकको आर्थिक अवस्था, उद्योग व्यवसायको अवस्थाका बारेमा जानकार रहेको र महासंघले पनि प्रधानमन्त्री समक्ष यसअघि पनि अर्थतन्त्रको संवेदनशीलताका विषयमा जानकारी गराएको गोल्छाले बताए ।

अध्यक्ष गोल्छाले उद्योग व्यवसाय सञ्चालनमा सबैभन्दा बढी समस्याको रूपमा देखा परेको चालू पूँजी कर्जा मार्ग निर्देशन कम्तीमा दुई वर्ष स्थगन गर्न र हाल देखिएको तरलता संकुचनको समस्या समाधान गर्न केन्द्रीय बैंकले सबै मौद्रिक उपकरणको प्रयोग गर्नुपर्ने सुझाव राखेका थिए ।

यतिखेर अरु कुरा भन्दा पनि मुलुकको अर्थतन्त्र अति संवेदनशील अवस्थामा रहेकाले नवगठित सरकारको सिंगो ध्यान अर्थतन्त्रको पुनरुत्थानमा जानुपर्नेमा अध्यक्ष गोल्छाले जोड दिए । अर्थतन्त्रमा वहुआयामिक असर परेको, मौद्रिक नीतिको समीक्षा मार्फत पनि समस्या सम्बोधन हुन नसकेको र विशेष गरी समग्र बैंकिङ समस्याको कारण उद्योगी व्यवसायी अत्यन्त कठिन अवस्थामा पुगेकाले बाध्य भएर सडकमा आउने परिस्थिति बनेकाले त्यसको अन्त्य गर्न आग्रह समेत महासंघले माग गरेको छ ।

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रको पुनरुत्थान आफ्नो पहिलो प्राथमिकता रहेको र मन्त्रिपरिषद्को पहिलो बैठकबाट यस सम्बन्धमा विशेष निर्णय समेत भैसकेको जानकारी गराए । अर्थतन्त्रको संवेदनशील अवस्थाका सम्बन्धमा निजी क्षेत्रको चासो र चिन्तालाई आफूले सम्मान गर्ने पनि समेत बताए ।

‘महासंघ अर्थतन्त्र जोगाऔँ भन्ने अभियानमा लागेको छ, यति बिहानै भेटघाटका लागि आउनु भयो, त्यही विषयमा तपाईँहरू चिन्तित हुनुहुन्छ र समस्या समाधानका लागि भनिरहनु भएको छ, सरकारले यसलाई गम्भीर रूपमा लिन्छ,’ प्रधानमन्त्रीले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस