आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : बेसहारा ज्येष्ठ नागरिकलाई भोजन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

आज राष्ट्रिय ज्येष्ठ नागरिक दिवस : बेसहारा ज्येष्ठ नागरिकलाई भोजन


११ पुस २०७९, सोमबार


काठमाडौँ । दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका सन्दर्भमा आज काठमाडौँको रानीवनस्थित मानवसेवा आश्रममा आश्रित ज्येष्ठ नागरिक (असहाय तथा बेसहारा)हरूका लागि भोजन गराइएको छ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको समुपस्थितिमा यहाँ रहेका दुई सय बेसहारा तथा असहायहरू तथा ज्येष्ठ नागरिकहरूलाई भोजन गराइएको हो ।

विसं २०५१ पुस ११ गते ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्न सुरु गरिएको दिनलाई स्मरण गर्दै यो दिवस मनाउन सुरु गरिएको हो । नेपाल सरकारको गत वर्षको निर्णयबमोजिम पुस ११ गतेलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सुरु गरिएको थियो । 

यस वर्ष पनि ‘हामी सबैको सरोकार, ज्येष्ठ नागरिकको अधिकार’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमहरू आयोजना गरीएको थियो । सो क्रममा उपप्रमुख डङ्गोलले मानवसेवा आश्रम आफ्नो परिवारजस्तो भएको बताउँदै ज्येष्ठ नागरिकहरूको सम्मान हामी सबैको कर्तव्य भएको बताइन् । उनले आश्रममा आश्रित ज्येष्ठ नागरिक तथा अन्य आश्रित व्यक्तिहरूलाई भोजनसमेत गराएकी छिन् ।  

उनले सहयोगापेक्षी सडकमानवहरूका लागि आफूले र महानगरले गर्नसक्ने सबै कार्य गर्ने प्रतिबद्धता पनि जनाइन् । उपप्रमुख डङ्गोलले हाल मानवता प्रवर्धनका लागि महिनाव्यापी रूपमा आयोजित साङ्गीतिक यात्राका क्रममा यही १६ गते काठमाडौँको भृकुटीमण्डपमा हुन लागिरहेको नेपथ्य लाइभ कन्सर्टमा सहभागी भई मानवीय सेवामा सहयोग गर्न पनि सबैमा अनुरोध गरिन् । उनी काठमाडौँ महानगरको उपप्रमुख हुनुअघि देखि नै सडक आश्रित मानवहरूको उद्धारमा सक्रिय हुँदै आएकी थिइन् । 

Tags :
प्रतिक्रिया दिनुहोस