काठमाडौँ । नेकपा माओवादी केन्द्रका मधेस प्रदेशका विभिन्न नेताले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । गोरखाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका अध्यक्ष प्रचण्डलाई बधाई दिन तराईका विभिन्न जिल्लाबाट आएका नेताहरू उनकै निवासमा पुगेका हुन् ।
उनीहरूले अध्यक्ष प्रचण्डलाई खादा र माला लगाएर बधाई तथा शुभकामना दिए । सो अवसरमा चुनावको समीक्षासमेत भएको थियो । मधेसबाट आएका माओवादी केन्द्रका नेताहरुले सात वटा प्रदेशमध्ये मधेसमा पार्टी सबैभन्दा कमजोर भएको टिप्पणी गरेका थिए ।
उनीहरूले पार्टीको अवस्था कमजोर हुनुमा माओवादी केन्द्रका नेताद्वय नारायणकाजी श्रेष्ठ र मातृका यादवलाई दोषी देखाएका छन् । श्रेष्ठ र यादवबीचको गुटबन्दीका कारण मधेसमा पार्टीको सङ्गठन नाजुक बनेको उनीहरूको गुनासो थियो ।
एक नेताका अनुसार मधेस प्रदेशबाट आएका विभिन्न नेताहरुले नारायणकाजी श्रेष्ठ र मातृका यादवको नामै लिएर प्रचण्डसमक्ष गुनासो गरेका थिए । अहिले समानुपातिकमा रहेका नामप्रति पनि उनीहरूको गुनासो थियो ।
समानुपातिक बन्द सूचीमा आएका नाम एउटै गुट र एउटै जातीको देखिन्छ । पार्टीमा योगदान दिएका तथा समाजमा राम्रो छवि भएका व्यक्तिभन्दा आआफ्ना गुटका तथा जातीका व्यक्तिलाई समानुपातिकमा राखेको गुनासो ती नेताको थियो ।
पार्टीमा नामै नसुनेका व्यक्तिहरूको नाम प्रदेश र संघमा समानुपातिकमा परेको भन्दै उनीहरूले यसमा पार्टीले पुनर्विचार गर्नुपर्ने धारणा राखेका छन् । मधेस प्रदेशमा समानुपातिकको प्राथमिकतामा रहेकामध्ये अधिकांश नारायणकाजी र मातृका गुटका छन् । पार्टीमा योगदान दिएका नेताहरू धेरै पछाडि परेको र गुटबन्दीकै कारण उनीहरूलाई सांसद बनाउन गाह्रो हुँदै गएको नेताहरूको भनाइ थियो ।
त्यसको प्रतिक्रियामा अध्यक्ष प्रचण्डले सुरुमा समानुपातिक उम्मेदवार छनौट गर्दा मसिनो गरी ध्यान दिन नसकेका कारण कतिपय ठाउँमा त्रुटि भएको स्वीकार गरेको नेताहरूको भनाइ छ । अब कानुन अनुसार त्यसलाई सच्याउन गाह्रो हुने भए पनि कतै मिलाउने ठाउँ छ भने सक्दो प्रयास गर्ने भनेर प्रचण्डले आश्वासन दिएको भेटमा सहभागी एक नेताले बताए ।