विश्व एड्स दिवस : ८४ प्रतिशतले एचआइभी सङ्क्रमणमा कमी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

विश्व एड्स दिवस : ८४ प्रतिशतले एचआइभी सङ्क्रमणमा कमी


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले एचआइभीको नयाँ सङ्क्रमणमा कमी आएको जनाइएको छ । 

सन् २००० मा चार हजार तीन सय ७० जना र सन् २०२१ मा छ सय ८० जना नयाँ सङ्क्रमित फेला परेका छन् । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सुधा देवकोटाले सङ्क्रमितलाई उपचार प्रक्रियामा ल्याइएकाले सर्न कम भएको बताए । उनले सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले नयाँ सङ्क्रमित कम भएको जानकारी दिए ।

उनका अनुसार हरेक वर्ष नयाँ सङ्क्रमित कम हुने गरेका छन् । यस्तै सन् २०२१ सम्म नेपालमा ३० हजार व्यक्ति एचआइभी सङ्क्रमित रहेका छन् । 

कुल सङ्क्रमितमध्ये शून्य दशमलव १२ प्रतिशत सङ्क्रमण वयस्क मानिसमा र ४५ जना १४ वर्षभन्दा मुनिका बालबालिकामा एचआइभी सङ्क्रमण भएको तथ्याङ्कमा देखाइएको छ । यस्तै २०२१ सम्ममा नेपालमा २१ हजार सात सय २३ सङ्क्रमितले एन्टिरेट्रो भाइरस (एआरभी) उपचार लिइरहेका छन्, त्यो सङ्ख्या कूल एचआइभीको ७२ प्रतिशत मात्र हो । 

निर्देशक डा. देवकोटाले अझै पनि उपचारबाट बाहिर रहेका करिब पाँच हजार सङ्क्रमितलाई उपचारमा ल्याउने हो भने सरकारले तोकेको लक्ष्य पूरा हुने बताए । 

उनले उपचार गरी भाइरल लोड ठिक भएका सङ्क्रमितको समाजमा घुलमिल हुनका लागि वातावरण बनाउने अभियानमा आफूहरू रहेको बताए । 

उनले एचआइभी सङ्क्रमितमाथि अझै पनि समाजमा लाञ्छना र भेदभाव रहेकाले हटाउन आवश्यक रहेको बताए । सन् २०२१ मा पाँच सय १० जनाको एड्सबाट मृत्यु भएको छ । सन् २००७ मा एक हजार सात सय ६५ जनाको एड्सका कारणले मृत्यु भएको छ । सन् २००७ भन्दा २०२१ मा ७१ प्रतिशतले कमी हो । केन्द्रका निर्देशक डा.देवकोटाले सबैलाई उपचारमा ल्याइएको हुनाले मृत्यु दरमा कमी आएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस