भन्सार छलेर चुरोट र गुट्खा ल्याउने विरुद्ध मुद्दा दायर « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

भन्सार छलेर चुरोट र गुट्खा ल्याउने विरुद्ध मुद्दा दायर


१५ मंसिर २०७९, बिहिबार


काठमाडौँ । राजश्व अनुसन्धान विभागले विदेशबाट भन्सार छलेर चुरोट र गुट्खा ल्याउने विरुद्ध उच्च अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले पर्सा सखुवा पर्सौनी गाउँपालिकाका नवराज शर्मा भन्ने छविलाल अगस्तीविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।

उनले बिल बिजक तथा भन्सार प्रज्ञापन पत्र लगायतका कागजात नभएका विदेशी ब्रान्डका चुरोट र गुट्खा लगायतका मालवस्तु ल्याएर बिक्री गर्ने गरेका थिए । यस्तै, ती माल वस्तुको बिक्रीबापत हुने आयमा प्रचलित कानुन बमोजिम नेपाल सरकारलाई बुझाउनुपर्ने राजश्व समेत नबुझाउने गरेका थिए ।

भन्सार राजश्व र आय बापतको कर समेत नबुझाउने अगस्तीलाई राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसहित) को दफा ३ र ४ (क) (ख) (छ) र (झ) बमोजिम राजश्व चुहावट गरेको पाइएको हो । राजश्व चुहावटको कसुर पुष्टि हुन आएकाले बरामद भएको उक्त सामानको बिगो १ करोड ४० लाख ६४ हजार ६६८ रुपैयाँ र २० लाख रुपैयाँ अन्तशूल्क बिगो दाबी गरिएको छ ।

यस्तै, स्वास्थ्य जोखिम कर ३ लाख ५२ हजार ४४० मूल्य अभिवृद्धि कर २४ लाख ३४ हजार ३५७ रुपैयाँ गरी जम्मा २ करोड १४ लाख ९ हजार ५१६ रुपैयाँ कर छलेको पाइएको हो । यसमा थप सोही रकम बराबरको सजाय रकम थपेर कूल ४ करोड ३२ लाख १९ हजार रुपैयाँ बिगो दाबीसहित विभागले मुद्दा दायर गरेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस