कर्णालीमा सत्ता गठबन्धनको दुई तिहाइ, मुख्यमन्त्रीमा आलोपालो « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्णालीमा सत्ता गठबन्धनको दुई तिहाइ, मुख्यमन्त्रीमा आलोपालो


१४ मंसिर २०७९, बुधबार


काठमाडौँ । कर्णाली प्रदेशमा सत्तारुढ गठबन्धनले दुईतिहाई बहुमत पुर्‍याउने भएको छ । ४ मंसिरमा सम्पन्न निर्वाचनमा प्रत्यक्षतर्फ नेपाली काँग्रेस र माओवादी केन्द्रले समान ९-९ सिट जितेका छन् । एमालेले ५ सिट जित्दा एक स्वतन्त्र आएका छन् ।

समानुपातिकतर्फ मत गणना अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म प्राप्त मत अनुसार काँग्रेस र एमालेले समान ५र५, माओवादी केन्द्रले ४ तथा एकीकृत समाजवादी र राप्रपाले एक/एक सिट पाउने देखिन्छ । त्यसो भएमा४० सदस्यीय कर्णाली प्रदेश सभामा सत्तारुढ गठबन्धनमा आबद्ध दलको कुल सांसद संख्या २८ हुनेछ ।

कर्णालीमा बहुमतको सरकार बनाउन २१ जना सांसद चाहिन्छ । सत्तारुढ दलहरूसँग भएको संख्या दुई तिहाइ बहुमत हो । अब गठबन्धन कायमै रहे उनीहरूको सहजै सरकार बन्छ ।

एमालेले भने सरकारको नेतृत्वका लागि काँग्रेस वा माओवादीको साथ खोज्नुपर्ने हुन्छ । तत्कालका लागि यो अवस्था नरहेको काँग्रेस कर्णाली प्रदेश प्रवक्ता दमन शाही बताउँछन् ।

माओवादी केन्द्रकी कर्णाली प्रदेश अध्यक्ष विमला केसीले पनि गठबन्धनले निरन्तरता पाउने बताइन् ।

यस्तै मुख्यमन्त्रीमा आलोपालो गर्न नेताहरू तयार देखिएका छन् । तर पहिलो सरकारको नेतृत्व आफ्नो दलले गर्नुपर्ने काँग्रेस र माओवादी दुबैको दाबी छ ।

कर्णाली आफूहरूको आधार इलाका भएकाले पहिला सरकारको नेतृत्व माओवादीले पाउनुपर्ने अध्यक्ष केसीको दाबी छ ।

काँग्रेस प्रदेश कमिटीका प्रवक्ता शाहीले भने पहिलो दल काँग्रेस भएकाले पनि काँग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने बताए । 

प्रदेश सरकारको नेतृत्व गर्नेबारे काँग्रेस र माओवादीले आ-आफ्नै दाबी गरे पनि अन्तिम निर्णय भने शीर्ष नेतृत्वले लिने दुबै दलका नेताहरू स्विकार्छन् ।

चुनावी नजिता आएसँगै कर्णालीमा अबको मुख्यमन्त्री को भन्नेबारे चासो बढेको छ ।

चुनाव जिते मुख्यमन्त्री बन्छु भन्दै भोट मागेका काँग्रेस, माओवादी र एमालेका सातमध्ये ६ जना नेताहरुले चुनाव जितेका छन् । मुख्यमन्त्री बन्ने भन्दै प्रदेश सभामा चुनाव लडेका काँग्रेस प्रदेश सभापति ललितजंग शाही जुम्ला (१) मा पराजित भए ।

काँग्रेसबाट बहालवाला मुख्यमन्त्री जीवनबहादुर शाही र राजीवविक्रम शाहलाई भावी मुख्यमन्त्रीको रूपमा हेरिएको छ । जीवन शाही मुख्यमन्त्री बन्ने भन्दै प्रदेश सभामै चुनाव लडेका थिए ।

जाजरकोट प्रदेश सभा (२)बाट चुनाव जितेका काँग्रेसका केन्द्रीय सदस्य राजीव विक्रम शाहले पनि मुख्यमन्त्रीको दाबी गर्दै आएका छन् ।

उनी निकट नेताहरुले पनि जीवनबहादुर शाहीको पालो सकिएकाले अबको मुख्यमन्त्री शाह हुने बताउँछन् ।

माओवादी केन्द्रमा मुख्यमन्त्रीका रूपमा सुर्खेतका विन्दमान विष्ट र रुकुम पश्चिमका राजकुमार शर्माको नाम चर्चामा छ । दुईमध्ये वरीयताका आधारमा शर्माको सम्भावना बढी रहेको नेताहरू बताउँछन् । 

अहिलेकै अवस्थामा एमालेले सरकारको नेतृत्व गर्ने सम्भावना छैन । तर सत्ता गठबन्धनमा तलमाथि भएको अवस्थामा एमालेले सरकारको नेतृत्व गर्ने सम्भावना रहन्छ । एमालेमा यामलाल कँडेल र विनोदकुमार शाहको नाम चर्चामा छ । तर एमालेबाट यामलाल नै संसदीय दलको नेता र मुख्यमन्त्रीको दाबेदार भएको एमालेका नेताहरू बताउँछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस