ओलीलाई बालेनको चेतावनी : कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ! « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

ओलीलाई बालेनको चेतावनी : कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला !


१३ मंसिर २०७९, मंगलबार


काठमाडौँ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिप्रश्न गर्दै सुकुम्वासीहरूलाई आफ्नो विरुद्ध प्रयोग नगर्न चेतावनी दिएका छन् ।

ओलीले बागमती किनारका सुकुम्वासी बस्ती हटाउन महानगरले थालेको अभियानप्रति राखेको धारणामाथि सामाजिक सञ्जालमार्फत बालेनले पटक–पटक राज्य संरचनाको नेतृत्व लिँदा ओलीले नदेखेको टिप्पणी गर्दै सो चेतावनी दिएका हुन् । 

सम्बन्धित समाचार : बालेनलाई ओलीकाे प्रश्न : चुप लागेर खोला किनारमा बसेको गरिब कुरुवालाई हटाएर के हुन्छ ?

‘तपाईँबाट नै यस्तो धारणा आउनु सामान्य विषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाडौँको सुकुम्वासी समस्या समाधान गर्न सक्नुभएन’ बालेनले लेखेका छन्, ‘मन्त्री र पटक पटक त्यो पनि दुई तिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनुभयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नुभएन । सुकुम्वासीहरू तपाईँका लागि भोट बैङ्क मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरीतका कुराहरूमा प्रयोग गर्नुभयो । त्यो पनि राजनीतिक स्वार्थवश ।’

उनले जनता, नदीनाला र नेवा सभ्यताको माया भए ओलीको नेतृत्वमा लुँहिटी (सुन्धारा) सक्काएर सेतो टावर किन ठड्याउनुभयो रु भन्दै प्रश्न गरेका छन् ।

‘हनुमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडि बढाउनुभयो रु’ उनले भनेका छन्,’यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदी क्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईँले विरोध गर्नु असामान्य होइन ।’

मेयर बालेनले अब परिस्थिति फेरिइसकेको भन्दै ओलीलाई चेतावनी दिएका छन् । ‘सकेको सहयोग गर्नुहोला, तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला’, उनले चेतावनी दिएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस