दोलखाका १० केन्द्रमा मंसिर १५ गते पुन: मतदान गर्ने निर्णय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

दोलखाका १० केन्द्रमा मंसिर १५ गते पुन: मतदान गर्ने निर्णय


१२ मंसिर २०७९, सोमबार


काठमाडौँ । दोलखा जिल्लाका १० वटा मतदान केन्द्रमा पुनः मतदानको मिति तोकिएको छ ।

पुन: मतदान गराउने निर्वाचन आयोगको निर्णयअनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सोमबार बिहान बैठक बसेर मंसिर १५ लाई मतदानको मिति तोकेको हो ।

यसअघि निर्वाचन आयोगले यही मंसिर १५ गतेभित्र निर्वाचन गराइसक्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई भनेको थियो । दोलखाका १० वटा केन्द्रमा धाँदली भएको निष्कर्ष निर्वाचन आयोगले निकालेपछि ती केन्द्रहरुमा पुनः मतदान गराउन लागिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले ‘बुथ क्याप्चर’ भएको भन्दै उजुरी गरेपछि आयोगको एउटा टोलीले दोलखामा गएर स्थलगत अध्ययन गरेको थियो । त्यो टोलीको सिफारिसका आधारमा निर्वाचन आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो ।

सिफारिसका आधारमा वैतेश्वर गाउँपालिका वडा नम्बर ६ वैतेश्वर मावि मतदान केन्द्र क,ख र गमा पुनः मतदान हुने भएको हो ।

त्यस्तै सोही पालिका वडा नम्बर २ जनज्योति माविका दुई मतदान केन्द्र र तामाकेशी गाउँपालिका ३ जफे हेल्थपोष्ट मतदान केन्द्रका दुई बुथमा पनि पुनः मतदान हुने भएको छ । बैतेश्वरकै कालिढुंगा माविका क, ख र ग सहित १० मतदान केन्द्रमा पुनः मतदान हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस