काँग्रेस र एमालेका उम्मेदवार विरुद्धको उजुरी तामेलीमा, कर्मचारीसहित अन्यलाई कारबाही  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काँग्रेस र एमालेका उम्मेदवार विरुद्धको उजुरी तामेलीमा, कर्मचारीसहित अन्यलाई कारबाही 


२ मंसिर २०७९, शुक्रबार


काठमाडौँ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि निर्वाचन कार्यक्रम सुरु भएयता निर्वाचन आयोगमा १४९ वटा आचारसंहिता उल्लङ्घनका उजुरी परेको छ । 

सो उजुरीमध्ये आयोगले २२ उजुरीमा निर्णय गरेको छ । आचारसंहिता उल्लङ्घनका उजुरीमा काँग्रेस र एमालेका उम्मेदवार विरुद्ध परेको उजुरी तामेलीमा राखिएको छ भने अन्य उम्मेदवार, शिक्षक, कर्मचारीलाई जरिवाना गरिएको छ । 

आयोगले झापा क्षेत्र नम्बर १ का काँग्रेसका उम्मेदवार विश्वप्रकाश शर्माविरुद्ध आचारसंहिता उल्लङ्घन गरेको उजुरीलाई आयोगले तामेलीमा  राखेको छ भने दाङ क्षेत्र नम्बर ३ की एमाले उम्मेदवार कोमल वलीविरुद्ध परेको आचार संहिता उल्लङ्घनको उजुरीलाई पनि आयोगले तामेलीमा  राखेको छ । यस्तै कैलाली क्षेत्र नम्बर ४ बाट काँग्रेसबाट उम्मेदवार रहेका वीरबहादुर बलायर विरुद्ध परेको आचार संहिता उल्लङ्घनको उजुरीलाई पनि आयोगले तामेलीमा राखेको छ । 

यस्तै शहरी विकास मन्त्री मेटमणि चौधरी, दुग्ध विकास संस्थान, प्रेस काउन्सिल नेपाल विरुद्ध परेको उजुरीलाई पनि तामेलीमा राखिएको छ । आयोगले ८ उजुरीलाई तामेलीमा राखेको छ भने ७ वटा उजुरी परेका व्यक्तिलाई जरिवाना तिराउने कारबाही गरेको छ । हालसम्म कारबाही परेका विभिन्न पक्षबाट ५० हजार रुपैयाँ जरिवाना उठेको आयोग स्रोतले जानकारी दिएको छ । 

आयोगले शुक्रबार राजीव गुरुङ उर्फ दीपक मनाङेलाई २५ हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । यसअघि आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार पुकार बमलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ । यस्तै जनता आधारभूत माविका शिक्षक जिवछ यादवलाई ५ हजार, शिक्षक तिलक कुँवरलाई ५ हजार, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अधिकृतलाई ५ हजार, बाराको एक स्थानीय तहका नगर प्रमुख जलेन्द्रसिंह जैसवाललाई २५ हजार र काठमाडौं महानगरका एक वडाध्यक्ष मुकुन्द रिजाललाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस