मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित कर्मचारीलाई तालिम « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित कर्मचारीलाई तालिम


२९ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । आगामी मङ्सिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बैतडीमा खटिएका कर्मचारीलाई तालिम दिइएको छ ।

जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयाँलका अनुसार निर्वाचनमा जिल्लाभर खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी चार सय ३६ जनालाई एकदिने तालिम दिइएको हो ।

जिल्लाका दुई सय १० मतदान केन्द्रमा खटिने चार सय २२ मतदान अधिकृत र सहायक मतदान अधिकृतसहित जगेडामा रहेका थप १४ गरी चार सय ३६ जनालाई तालिम दिइएको हो । मतदान हुनुभन्दा पहिला खटाइसकेपछि र मतदानका दिन गर्नुपर्ने कामका बारेमा तालिममा सिकाइएको थियो । उनले भने, ‘मतदानपूर्व गर्ने, मतदानका दिन गर्ने, मतदान पश्चात् मतपेटिका सिल गर्ने बारे र मतदानको दिनभन्दा अगाडि सर्वदलीय बैठक बोलाउने लगायत विषयमा जानकारी गराइएको छ ।’

तालिमपश्चात् आज कर्मचारीलाई निर्वाचन सामग्री हस्तान्तरण गरेर मतदान केन्द्रमा खटाइँदै छन् । निर्वाचनमा खटिने कर्मचारी मतपत्र र निर्वाचन सामग्रीसहित मङ्सिर १ गतेभित्र सम्बन्धित मतदान केन्द्रमा पुगिसकेका छन् ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयंसेवक र कार्यालय सहयोगी गरी जिल्लामा एक हजार छ सय ८४ जनशक्ति परिचालन गरिने भएको हो । निर्वाचनमा परिचालन हुने अन्य जनशक्तिलाई मतदान अधिकृत र सहायक मतदान अधिकृतले अभिमुखीकरण गर्ने जनाएको छ ।

बैतडीमा एक सय २९ मतदान स्थलमा दुई सय १० मतदान केन्द्र छन् । यसका साथै एउटा अस्थायी मतदान केन्द्र पनि तोकिएको छ । प्रतिनिधिसभाका लागि एक मात्र क्षेत्र रहेको जिल्लामा एक लाख ५० हजार एक सय ५६ मतदाता छन् । यहाँ ११ उम्मेदवार चुनावी मैदानमा छन् । प्रदेशसभाको दुई सिटका लागि पनि ११ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस